भरतपुर। नारायणगढ लेडी जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत महिला पत्रकारहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। भरतपुर–२, क्षेत्रपुरस्थित क्षेत्रपुर फुटसलमा बुधबार आयोजित प्रतियोगितामा रेडियो टोलीले अनलाइन मिडिया टोलीलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
रेडियो टोलीका लागि जिविका श्रेष्ठ र करिष्मा गुरुङले समान २–२ गोल गर्दै टोलीलाई जित दिलाए। अनलाइन मिडिया टोलीका तर्फबाट पुनम मगरले एक गोल फर्काइन् । प्रतियोगिता पछि आयोजित समापन समारोहमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की तथा नारायणगढ लेडी जेसीजकी अध्यक्ष संगीता थापा मगरले विजेता रेडियो टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरे। उपविजेता अनलाइन मिडिया टोलीलाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
“Strong Women Makes Stronger Nation” भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको उद्देश्य महिला पत्रकारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वास्थ्य, एकता र महिला सशक्तीकरणको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले पत्रकारहरू सधैं कलम र क्यामेरा बोकेर व्यस्त रहने भएकाले उनीहरूलाई खेलकुदमार्फत उत्साहित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले पत्रकारको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता मैत्रीपूर्ण प्रतियोगिताले पत्रकारहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचाराको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्कीले नारायणगढ लेडी जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका कार्यक्रमको प्रशंसा गर्दै खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टिम भावना विकास गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए। सञ्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सिर्जना अर्यालले महिला पत्रकारहरूलाई एउटै मञ्चमा ल्याई खेलकुदमार्फत सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सकारात्मक र उदाहरणीय पहल भएको बताइन्।
पत्रकारिता जस्तो चुनौतीपूर्ण पेशामा आबद्ध महिला पत्रकारका लागि यस्ता कार्यक्रमले मानसिक तथा शारीरिक रूपमा ऊर्जा प्रदान गर्नुका साथै आपसी एकता, सहकार्य र मित्रतालाई अझ मजबुत बनाउने उनको भनाइ थियो। उनले आगामी दिनमा पनि महिला पत्रकारको क्षमता विकास, स्वास्थ्य प्रवर्द्धन तथा पेशागत सम्बन्ध विस्तार गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रमको समन्वय सञ्चारिका समूह, चितवनले गरेको थियो भने संयोजन जेसी बिजया मानन्धरले गरेकी थिइन्। नारायणगढ लेडी जेसीजकी अध्यक्ष संगीता थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाकी उपाध्यक्ष शान्ता अधिकारी, सञ्चारिका समूह चितवनकी अध्यक्ष गीता गुरुङ, नारायणगढ लेडी जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, महिला पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव वर्षा श्रेष्ठले गरेकी थिइन्।