काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा फोनिजले साउन २५ देखि २७ गतेसम्म तीनदिने ‘अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन’ आयोजना गरेको हो ।
उनका अनुसार सम्मेलनमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, मातृभाषी पत्रकारका समस्या, सञ्चारगृहको अवस्था तथा राज्यको नीतिगत भूमिकाबारे गहन छलफल भइरहेको छ । सम्मेलनका दुई दिनमा करिब ११ वटा प्यानल छलफल र १४ वटा कार्यपत्र प्रस्तुत गरिएको उनले बताए ।
उनले भने,‘तीन दिनदेखि मातृभाषा पत्रकारिताको अवस्था, विदेशमा मातृभाषी पत्रकारहरूको अवस्था, सञ्चारगृहको अवस्था र नेपालमा मातृभाषी पत्रकारहरूको वास्तविक अवस्थाबारे मिहिन ढंगले छलफल गरिरहेका छौं ।’
विगतमा स्थापना दिवसका कार्यक्रम भाषण तथा औपचारिक समारोहमा सीमित हुने गरेको उल्लेख गर्दै चौधरीले यसपटक त्यसबाट सिक्दै नीतिगत बहसलाई प्राथमिकता दिइएको बताए । आदिवासी अधिकारसँग सम्बन्धित विभिन्न सवालमा विज्ञहरूलाई सहभागी गराएर प्यानल छलफल सञ्चालन गरिएको उनको भनाइ छ ।
‘पहिले स्थापना दिवसका कार्यक्रमहरू भाषण र औपचारिक समारोहमा मात्रै सीमित हुन्थे । यसपटक हामीले त्यसबाट सिक्दै स्थापना दिवसलाई नीतिगत बहससँग जोड्ने प्रयास गरेका छौं । आदिवासी अधिकारका विभिन्न सवालमा विज्ञहरूलाई सहभागी गराएर छलफल गरेका छौं,’उनले भने ।
नेपालमा मातृभाषी पत्रकारहरूको वास्तविक अवस्था र तथ्यांकबारे राज्यस्तरबाट पर्याप्त अध्ययन तथा अभिलेखीकरण हुन नसकेको चौधरीले बताए । देशभरका मातृभाषी पत्रकारलाई संगठित गर्ने छाता संस्थाका रूपमा फोनिजले यस विषयलाई निरन्तर उठाउँदै आएको उनले बताए ।
सम्मेलनको अन्तिम दिन बुधबार बिहानदेखि दिउँसोसम्म विभिन्न कार्यपत्र प्रस्तुतिसहित प्यानल छलफल हुने र साँझ ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सम्मेलन तथा फोनिजको २७औँ स्थापना दिवस समारोह समापन गरिने उनले जानकारी दिए ।