चितवन । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवनको दोस्रो अधिवेशनले हिरालाल गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा गीता गुरुङ, सचिवमा करिष्मा गुरुङ, सहसचिवमा घना गुरुङ र कोषाध्यक्षमा सूचना गुरुङ निर्वाचित भएका छन्। सदस्यमा सुष्मा गुरुङ र शान्ति गुरुङ चयन भएका छन्। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तमू समुदायको भाषा,संस्कार,संस्कृति,पहिचान र समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले तमू समुदायको मौलिक संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले इच्छाकामनाको दुर्गम गुरुङ बस्ती घुर्केशमा अधिवेशन आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे। समुदायका आवाजलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउँदै समाज परिवर्तनमा सञ्चारकर्मीले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू समुदायका मुद्दालाई सञ्चारको माध्यमबाट प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित कार्यसमितिले तमू समुदायको भाषा,कला,संस्कृति,परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनसँगै पत्रकारहरूको पेशागत हकहितका लागि काम गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष डन्ड गुरुङ, महासचिव चित्र सोल्टी न्हान्सी गुरुङ, तमू प्हे ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङ, मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक राना मगरलगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। घुर्केशमा आयोजना गरिएको अधिवेशनले गुरुङ समुदायको मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई सञ्चारमार्फत थप उजागर गर्न समेत योगदान पुग्ने विश्वास लिइएको छ।