Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, उजुरी दर्ता

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, उजुरी दर्ता

रासस

४, भाद्र २०८३
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, उजुरी दर्ता
images

खोटाङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ ।

images
images
चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित सोही समयको पुरानो ढुङ्गे धारा भने अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न संस्कारका काममा प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ ।

ढुङ्गे धारासँगै रहेको सार्वजनिक चौतारा भएको ठाउँमा दुई कित्ता सार्वजनिक जग्गा रहेको देखिन्छ । एक कित्ता सार्वजनिक चौतारा र अर्को कित्ता सार्वजनिक धाराका नाममा भूमि प्रशासन कार्यालय(तत्कालीन जिल्ला मालपोत कार्यालय) खोटाङमा दर्ता रहेको छ ।

कित्ता नम्बर २९६ मा सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक चौतारा तथा कित्ता नम्बर १११२ मा नौ आना दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक धाराका नाममा दर्ता रहेको देखिन्छ । सार्वजनिक धारा तथा चौतारा साविक दिक्तेल गाउँ विकास समिति–२ र ३ को सीमाना तथा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा पर्छ ।

सार्वजनिक चौतारा नजिकै रहेको आफ्नो निजी जग्गामा स्थानीय नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गरी चौताराको नाममा रहेको जग्गालाई आँगन बनाएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले जानकारी दिनुभयो ।

“हाम्रो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा अतिक्रमण भएको छ । यसमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको मिलेमतो देखिएको छ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि प्रयोग गर्दै आएको जग्गामा संस्कार गर्न जाँदा घरधनीले दुव्र्यवहार गर्दै आएका छन् । यो समस्या स्थानीयस्तरबाट समाधान नहुने देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहार्ने तयारीमा छौँ ।”

दिक्तेल बजारस्थित हस्पिटल चोकमा सार्वजनिक चौताराको जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याइएको भन्दै स्थानीयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विसं २०८३ असार २९ गते गुनासो तथा साउन ७ गते उजुरी दर्ता गराएको बुझिएको छ । नेपाल सरकारमा उजुरी पुगेपछि अतिक्रमण भएको भनिएको जग्गाको विषयमा अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशनसमेत आएको छ ।

यता, सार्वजनिक जग्गा अतिक्रमणको आरोप लागेका नारायणकाजी श्रेष्ठले आफूले चौताराका नाममा रहेको सार्वजनिक जग्गा नमिचेको दाबी गर्नुभएको छ । “मैले आफ्नो पाँच आना तीन पैसा एक दाम जग्गाभित्र घर निर्माण गरेको हुँ । सार्वजनिक चौतारा रहेको जग्गामा अहिले दिक्तेल–लफ्याङ सडक छ”, उहाँले भन्नुभयो, “आफ्नो जग्गामा घर बनाएर बस्दा पनि साथीहरूले दुःख दिइरहेका छन् । म पनि सामाजिक गुठीको सदस्य हुँ । यही संस्थाको नामबाट मलाई पटक–पटक दुःख दिएपछि गत साउन २१ गते विपक्षीका नाममा जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गराएको छु ।”

दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म तथा संस्कारसँग जोडिएको सार्वजनिक चौतारा रातारात गायब भएको विषय आफूहरूले त्यतिबेलैदेखि उठाउँदै आएको स्थानीयले बताएका छन् । नारायणकाजीको घर निर्माण गर्ने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन जनप्रतिनिधिको मिलेमतोमा चौतारा र वरपीपलको रुख हटाइएको स्थानीयको आरोप छ ।

सार्वजनिक चौतारामा स्थानीयले आफ्नो संस्कारअनुसार कसैको मृत्यु हुँदा काजकिरिया, पितृकार्य तथा धार्मिक एवं सामाजिक संस्कार गर्दै आएका थिए । नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा पनि सोही स्थानमा सेलाउने ९विसर्जन गर्ने० परम्परा रहेको स्थानीय बताउँछन् ।

सार्वजनिक चौतारा भत्काएपछि सोही ठाउँमा कटेरो बनाएर नेवार समुदायले परम्परागत रूपमा गर्दै आएको मृत्यु संस्कार गर्दासमेत घरधनीले अपशब्द बोलेर गाली गर्ने गरेको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले जानकारी दिनुभयो । त्यसबेला आफूहरूलाई गाली गर्दै भिडियोसमेत सामाजिक सञ्जालमा राखिएको र अहिले उक्त भिडियो हटाइएको उहाँले बताउनुभयो ।

आफ्नो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा प्रयोग गर्न नपाइएको भन्दै दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको थियो । त्यसपछि दुवै पक्षबीच छलफल गराई विसं २०८१ भदौ ७ गते निर्णय गरिएको पाइएको छ ।

स्थानीयले हरेक दिन उक्त स्थानमा आफ्नो संस्कारअनुसार खाना पकाएर खाने तथा नेवार समुदायले जात्रा सेलाउने गरेको पाइएपछि उक्त सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र परम्परागत रूपमा गर्दै आएको संस्कार गर्न पाउने गरी न्यायिक समितिले निर्णय गरेको थियो ।

दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा रहने गरी पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायले भोगाधिकार गर्न पाउने अधिकार नगरपालिकाको न्यायिक समितिमार्फत लिखित रूपमा दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताउनुभयो ।

न्यायिक समितिको निर्णयपछि दिक्तेल बजारस्थित नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाको दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ । रासस

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ११:०६:४५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology