अनुशासित र सभ्य जीवन सबैले बाँच्नुपर्छ र अरुलाई पनि त्यही तरिकाले बाँच्न दिनुपर्छ भन्ने संसारभरि एकनासको मान्यता छ । यस्तो खाले जीवनपद्धति स्थापनाका लागि नीति, नियम र कानुनहरु बनाइएका हुन्छन् र विभिन्न खाले धर्मले पनि नैतिकता र अनुशासन सिकाएको हुन्छ । सम्भवतः संसारमा कुनै एउटा त्यस्तो मुलुृक छैन, जहाँका मानिसका लागि कानुन र कुनै खाले धर्म अघि नसारिएको होस् ।

नेपाल पनि त्यस्तो एउटा पुरानो देश हो, जहाँ धेरै लामो समयसम्म राष्ट्र हिन्दुको पहिचान लिएर उभियो । अहिले केही वर्षअघि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको छ र यो देशमा राज्य सञ्चालन प्रक्रियालाई ठीक र दुरूस्त राख्न २०७२ सालमा नयाँ संविधान बनाइएको छ । यसलाई संघीय लोकतन्त्रिक गणतान्त्रिक संविधान भनिएको छ । यही संविधानले स्वतन्त्ररुपले बोल्न र लेख्न पाउने अधिकार दिएको छ भने आफ्नो अधिकारक्षेत्र नाघ्नेलाई कानुनी सजायको व्यवस्थासमेत गरेको छ ।
धेरैले आफ्नो अधिकारको प्रयोग निर्बाधरुपले गर्छन् र आफू अनुशासनमा रहेर स्वतन्त्रताको अनुभूति गर्छन्, तर केही त्यस्ता मानिस हुन्छन् जसले आफ्नो अधिकार प्रयोगको नाममा अनुशासनभन्दा बाहिर जान्छन् र त्यसले कानुनी र नैतिक प्रश्न खडा गर्छ । ताजा नेपालमा यस्तै खाले दुई घटना भएको छ, त्यो घटना चानचुने व्यक्ति र संस्थासँग सरोकार राख्दैन, राख्छ त नेपालको गृह मन्त्रालयअन्तर्गतको प्रहरी सङ्गठन प्रमुख दानबहादुर कार्की र उता सेनाका एक अधिकृतलाई मानमर्दन गरिएको छ, जुन आर्मीको प्रमुख अशोकराज सिग्देलसम्म गएर ठोक्किन्छ । दुई घटना यस्ता हुन् :
संसदीय छानबिन समितिमै चर्को गर्जनका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद् खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अनुहारमा आँखा गडाएर “तपाईंमाथि निर्वाचन प्रहरीको कपडा, जुत्ता र अन्य सामाग्री खरिदमा साठी करोड भ्रष्टाचार गरेको आरोप छ । तपाईंको घरमै तीन करोड चोरी भएको पनि छ, र ती चोरहरुलाई प्रहरीले आफ्नो विशेष ब्युरोमा थुनेर राखेको छ, केसलाई गुपचुप राख्ने प्रयास भएको छ । यी दुई मुद्दाउपर तपाईंमाथि छानबिन हुनुपर्छ र सजाय हुनुपर्छ ।
त्यसअघि तपाईंले पदबाट राजीनामा गर्नुपर्छ” भने । यो सुनेर अवाक् भएका महानिरीक्षक कार्कीले बडो सभ्य र शालीन भाषा प्रयोग गर्दै त्यसको चर्को प्रतिवाद गरे । अर्को काण्ड हो– राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्का एक माननीय राजुनाथ पाण्डे जो एकताका काठमान्डौँ महानगरपालिकाका सुरक्षाकर्मी थिए, तिनले नेपाली सेनाका एक अधिकृतले “यता डोजर चलाउनअघि सेनाको अनुमति लिनुपर्छ हजुर” भन्दा अन्टसन्ट बोलेर अनुशासित बचनलाई कर्कश स्वरले जवाफ फर्काउँदै म जनप्रतिनिधि हुँ, मैले भनिसकेपछि डोजर रोकिन्न भन्दै एक राष्ट्रियताको पहरेदार आर्मीको मानमर्दन गरे । अब चुरो कुरो यहीँबाट सुरू हुन्छ ।
खगेन्द्र सुनार जनताले निर्वाचित गरेका सांसद् हुन् । उनको काम संसद्मा उपस्थित भएर कानुन बनाउन सहयोग गर्नु हो र आवश्यक परे जनतालाई परेको पिरमर्काबारे संसद्मा आवाज उठाउने हो । तर, खगेन्द्रले दानबहादुरको हुर्मत लिँदै ठाडै भ्रष्टाचारी प्रमाणितै भएझैँ गरी राजीनामा देऊ भन्नु र बिनाप्रमाण तीन करोड भ्रष्टाचार गरेको आरोप लाउनु, थपमा हचुवाका भरमा आइजिपी कार्कीकै घरबाट तीन करोड नगद चोरी भएको भन्दै उल्लिबिल्ली पार्नुलाई दुनियाँले एक जिम्मेवार सांसद्को गैरजिम्मेवार चरित्र र अनुशासनहीनताको पराकाष्ठा बताए । उता, यस्ता उरन्ठ्याउला सांसद्लाई हदैसम्मको कारबाहीको लागि नै हुनुपर्छ, दानबहादुर कार्कीलगायत उच्चपदस्थ प्रहरी कर्मचारीहरुले सभामुख डोलप्रसाद अर्याललाई भेटेरै गुनासो गरे ।
उता, राजुनाथ पाण्डेको उद्दण्डताविरूद्ध पनि सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजुनाथलाई सचेत गराउन अनुरोध गरेको बुझिएको छ । सेनाको आफ्नो नियम हुन्छ । सेना आन्तरिक सुरक्षासँगभन्दा राष्ट्रियता रक्षाको मामलामा मात्रै क्रियाशील र प्रतिबद्ध रहन्छ । जनताको प्रतिनिधि भए पनि सेनाको अधिकारक्षेत्रभित्र प्रवेश गर्न हुन्न भन्ने कुरा राजुनाथलाई थाहा रहेनछ वा थाहा पाएर पनि उनले जानीबुझी अनुशासन तोड्दै दम्भ प्रदर्शन गरेका हुन् । दुईमध्ये जुनसुकै कारण भए पनि यहाँनेर राजुनाथ अनुशासनबाहिर गएका हुन् ।
फेरि प्रहरीको मामलातिर फर्किंदा खगेन्द्र सुनारलगायतका सांसद्हरुले अख्तियारलाई पत्र लेखेर महानिरीक्षकमाथि छानबिन गर्न अनुरोध गर्नसम्म सक्छन्, तर ठाडै राजीनामा देऊ, साठी करोडको भ्रष्टाचार भएको छ, तीन करोड नगद तिम्रै घरबाट चोरी भएको छ, चोरहरु समातेर गुपचुप राखिएको छ, महानिरीक्षककै घरमा चोरी हुन्छ भने जनताको घरको के हालत होलाजस्ता पूरै अनुशासनबाहिरको कुरा उनले गर्नै हुन्थेन । जहाँ पनि प्रमाण चाहिन्छ । झनै प्रहरीका प्रमुख हाकिम जसले देशभरि अपराध अनुसन्धानका लागि प्रमाण जुटाउन आदेश दिन्छन्, उसैलाई बिनाप्रमाण हचुवाका भरमा त्यस्तो गम्भीर आरोप लाउनु सरासर मूखर्ता हो ।
सांसद्को मर्यादाविपरीतको काम हो । खगेन्द्रले अनुशासन तोडेकै हुन् । यसो भन्दैमा कुनै प्रहरी हाकिममाथि छानविन हुन हुन्न भन्ने होइन, अनुशासनसहितको कानुनी प्रक्रिया हुन्छ । प्रक्रियाअन्तर्गतै कार्यसम्पादन गरिन्छ । कानुन र अनुशासन उल्लङ्घन जब सांसद्ले नै गर्छ भने उसले कस्तो कानुन बनाउला भन्ने प्रश्न उठ्छ नै । यसरी हेर्दा खगेन्द्र र राजुनाथले आफ्नो मर्यादा बिर्र्सिएकै हुन् भन्ने देखिन्छ । यो अनुशासन तोडाइवाला घटना हेर्दा सामान्य देखिन्छ, तर यो मामला सिङ्गो राष्ट्रियताको पहरेदार नेपाली सेनासम्म पुगेको र पूरै शान्तिसुरक्षाको जिम्मेवारी लिएको पूरै प्रहरीसँग जोडिएको हुँदा यो घटनालाई प्रधानमन्त्री बालेनले सामान्य भन्ठान्नु गलत हुनेछ । भोलिका दिनमा यस्ता घटना कुनै पनि हालतमा दोहोरिन हुन्न भन्नेतर्फ सरकारप्रमुख बालेन्द्र शाह अहिल्यै चनाखो हुनुपर्छ र यी दुई सांसद्लाई सम्झाइबुझाइ गर्नुपर्छ कि एकान्तमा झ्याँको झार्नुपर्छ कुनै उपाय गरिहाल्नुपर्छ ।
सेना र प्रहरीले चित्त दुखाउँदा देशवासीको भलाइ हुन सक्दैन । नेपाली भन्ने परिचय जोगाइदिन दुश्मनको छातीमा गोली दाग्न पछि नपर्ने र गोली थाप्न पनि पछि नपर्ने अन्तिम ठूलो नेपाली शक्तिलाई चित्त दुखाउनु कदापि देशहित हुन सक्दैन । जनतालाई रातको पूरा निद्रा सुत्न पाउने अवस्थाको सुनिश्चितता गरिदिने प्रहरी, जिउधनको सुरक्षाका लागि आफू नसुत्ने तर जनता आराम गरेको हेरिबस्ने प्रहरीको मनोबल गिराउने कामले भोलिका दिनमा जनतालाई नै पश्चात्ताप हुने कुरामा दुईमत हुन सक्दैन । दुनियााका देशहरुमा प्रहरीको चित्त दुख्दा आन्तरिक शान्तिसुरक्षा भङ्ग भएको र त्यस्तो अवस्थामा जनताको चिल्लीबिल्ली भएको उदाहरण थुप्रै छन् ।
झनै आर्मीमा गोलमाल आउँदाको अवस्था कति दर्दनाक हुन्छ, उदाहरण बुझ्न आजको हाइटीको हरिबिजोग हेर्दा आँखा खुल्छ । हाइटीमा सेनाको सङ्गठन नै अस्तव्यस्त भएको अवस्था छ । आजसम्म विश्वका थुप्रै देशले शान्ति स्थापनाका लागि प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघको निर्देशनमा नेपालबाट समेत हाइटीमा शान्ति बहाल गर्न नेपाली सेनाहरु खटिएका छन् । वर्षौं बितिसकेको छ, तैपनि हाइटीका जनताले शान्तिको श्वास फेर्न पाएका छैनन् । अस्तव्यस्त छ हाइटी । न धनको सुरक्षा, न त ज्यानको सुरक्षा । हाइटीमा पनि प्रारम्भमा यस्तै सामान्य घटना घटेको हो । तर, सामान्य ठान्दै जाँदा आज हाइटी छ÷छैनको अवस्थामा पुगेको छ ।
सेना र प्रहरीलाई प्रक्रिया पुर्याएर छुनुपर्छ, बतासे पाराले छुन हुँदैन । त्यसरी छुँदा पोल्नेमात्रै होइन डढाउन पनि सक्छ । सांसद् जम्मा पाँचवर्षे अवधिका हुन्छन् । खगेन्द्र र राजुनाथ पाँच वर्षपछि सांसद्को भूमिकामा नआउन सक्छन्, तर नेपाली सेना राष्ट्रनिर्माण अभियानताका पृथ्वीनारायण शाहले सँगालेका हुन् । आजसम्म छन् र अनन्तकालसम्म रहनेछन् । प्रहरी पनि जनता र देश रहुन्जेल अनवरतरुपले रहन्छन् । यही कारण हो,सेना र प्रहरीलाई जथाभावी छुन हुन्न, चलाउन पाइन्न । अब यो झिल्को सदाका लागि शान्त पार्ने जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेको पनि हो । आफ्ना दुई सांसद्लाई कुन सूत्र प्रयोग गर्दा ठीक हुन्छ, प्रयोग गरेर अति महत्त्वपूर्ण र संवेदनशील राष्ट्रको दुई अङ्ग सेना र प्रहरीलाई शानका साथ र निर्बाधरुपले कर्तव्यपथमा हिँड्न पाउने अवस्था सिर्जना गर्नुपर्छ । कुन विषय ज्यादा संवेदनशील हो त्यो बुझ्ने काम खासगरी प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दलका सभापति रवि लामिछानेकै हो ।