Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सरकार धेरै फेरिए,तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?

सरकार धेरै फेरिए,तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?

इच्छाकामना न्युज

४, भाद्र २०८३
सरकार धेरै फेरिए,तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?
images

सन्तोषी रावल,

images
images

काठमाडौं। नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन ।

पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला र नेपालमै रोजगारीको अवसर बढ्ला भन्ने अपेक्षा थियो ।

नेपालमै बसेर श्रम गर्ने र भविष्य बनाउने सपना फेरि पलाएको थियो । तर वैदेशीक रोजगार विभागको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कले भने युवाको विदेशिने क्रम अझै उस्तै रहेको देखाएको छ । विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा नयाँ तथा पुनः श्रमस्वीकृति लिएर ७० हजार ४४१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

विदेशीएका मध्ये ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार नयाँ श्रमस्वीकृति लिनेको संख्या मात्रै ४२ हजार ६९३ रहेको छ ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा पनि बढी हो । गत वर्ष साउनमा ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । अर्थात् एक वर्षको अन्तरमा साउन महिनामै विदेशिनका लागि श्रमस्वीकृति लिनेको संख्या बढेको देखिन्छ । महिलाको विदेशिने संख्या पनि बढेको छ । गत वर्षको साउनमा ९ हजार १६२ महिलाले श्रमस्वीकृति लिएका थिए भने यस वर्ष साउनमा यो संख्या ९ हजार ९६९ पुगेको छ ।

नेपालको राजनीतिक बहसमा युवालाई विदेश जानबाट रोक्नेभन्दा पनि नेपालमै अवसर सिर्जना गर्ने विषय लामो समयदेखि प्राथमिकतामा पर्दै आएको छ । चुनावका बेला होस् वा सरकार निर्माणका क्रममा, उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका प्रतिबद्धता सुनिन्छन् । तर सरकार परिवर्तनसँगै युवाको विदेशिने बाध्यता परिवर्तन हुन नसकेको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजारभन्दा बढी नेपालीले श्रमस्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा वार्षिक संख्या केही घटे पनि हरेक वर्ष लाखौँ नेपाली रोजगारीका लागि विदेश जाने क्रम भने जारी छ ।

विदेश जाने सबै नेपाली बाध्यताले मात्रै विदेशिएका हुँदैनन । कोही राम्रो आम्दानी र करिअरको अवसरका लागि जान्छन् । कोही अध्ययन र नयाँ जीवनशैलीको खोजीमा विदेशिन्छन् । कतिपयको परिवार नै विदेशमा बसोबास गरिसकेकाले उनीहरू पनि त्यतै जाने गर्छन् । तर ठूलो संख्या यस्तो पनि छ, जसका लागि विदेश रहर होइन, बाध्यता बनेको छ ।

नेपालमै काम गर्न चाहने हातले काम पाउँदैनन् । सीप भएका युवाले अवसर पाउँदैनन् । आफ्नै ठाउँमा केही गर्न चाहनेले लगानी, बजार र आवश्यक सहयोगको अभाव झेल्नुपर्छ । यही अवस्थाले धेरै युवालाई आफ्नो परिवार र जन्मभूमि छाडेर विदेशी भूमिमा श्रम बेच्न बाध्य बनाएको छ । विदेश जानेको संख्या बढेसँगै रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । तर रेमिट्यान्सको रकम बढ्नुको पछाडि लाखौँ परिवारको बिछोडको कथा पनि जोडिएको छ ।

बुढा भएका आमा–बुबाले आफ्ना छोराछोरीलाई विमानस्थलबाट बिदाइ गर्नुपर्छ । चाडपर्वमा परिवारका सदस्य छुट्टिन्छन् । तिहारमा दिदीबहिनीले टाढा रहेका दाजुभाइलाई सम्झेर टीका लगाउने दिन कुर्नुपर्छ । कतिपय परिवारका लागि चाडपर्व भेटघाटको समयभन्दा पनि भिडियो कलमा अनुहार हेरेर चित्त बुझाउने दिन बनेका छन् । युवाहरूको भनाइ छ,‘हाम्रो श्रम हाम्रै नेपालमा प्रयोग होस् ।’ तर उनीहरूले श्रम गर्ने ठाउँ खोजिरहेका छन् ।

नेपालमै पसिना बगाउन चाहने युवालाई नेपालमै रोजगारीको अवसर दिनु राज्यको मुख्य चुनौती बनेको छ । विदेश जान चाहनेको स्वतन्त्रता रोक्नुपर्ने होइन, तर नेपालमै काम गर्न चाहने युवा बाध्य भएर विदेशिन नपरोस् भन्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो ।

पुराना दलको सरकारका पालामा पनि लाखौँ युवा रोजगारी खोज्दै विदेशिए । नयाँ सरकार आएपछि पनि विदेशिनेको संख्या उल्लेख्य रूपमा घट्न सकेको छैन । त्यसैले जनताको प्रश्न छ—सरकार फेरिँदा युवाको बाध्यता किन फेरिन सकेन ?

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - १२:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology