Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सुनखानीमा पुरिएर मर्नेको सङ्ख्या १०० पुग्यो

सुनखानीमा पुरिएर मर्नेको सङ्ख्या १०० पुग्यो

रासस

४, भाद्र २०८३
सुनखानीमा पुरिएर मर्नेको सङ्ख्या १०० पुग्यो
images

बाङ्गुई। मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा सुनखानी भत्किँदा सय भन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार क्यामरुनको सीमाना नजिकै रहेको जाम्बोये गाउँमा रहेको सो सुनखानीमा दूघर्टना भएको स्थानीय अधिकारी तथा रेडक्रसका स्वयंसेवकले बताएका छन् ।

images
images

उक्त स्थान मध्य अफ्रिकी गणतन्त्रको बाबुआ सहरबाट करिब ५० किलोमिटर टाढा र क्यामरुनको पूर्वी क्षेत्रमा पर्ने गारुवा–बुलाइबाट केही किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । उद्धार कार्यमा संलग्न रेडक्रस स्वयंसेवक गेर्भे गानागोरोहले बुधबार १०० भन्दा बढी शव निकालिएको बताएका छन् ।

स्थानीय खानी सङ्घका एक वरिष्ठ अधिकारीले पनि दुर्घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । केही मानिस अझै बेपत्ता छन् भने केही भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको छ ।

स्थानीय अधिकारी बट्र्रान्ड बे याङ्गेले भग्नावशेषमुनि पुरिएका मानिसलाई जीवितै उद्धार गर्नु चमत्कारजस्तै हुने बताए । उनले परिवारको आर्थिक अवस्था सुधार्ने आशामा खानीमा काम गर्न पुगेका युवा पुरुष तथा महिलाको मृत्युले आफूहरू अत्यन्त दुःखी भएको बताए । घटनालाई ‘भयानक’ भन्दै नाना–माम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बिले उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था र सहयोगीहरूलाई अपिल गरेका छन् ।

खानीमा काम भइरहेका भूमिगत सुरुङहरू एकै पटक भत्किएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घटनाबारे न्यायिक अनुसन्धानसमेत सुरु गरिएको छ । घटनास्थलमा काम गर्ने एक खानी मजदुर सेड्रिक म्बाङ्गोले दुर्घटनालाई ‘विनाशकारी’ भनेका छन् । उनका अनुसार जमिन पूर्ण रूपमा भत्किएर मानिसहरू पुरिएका र उद्धार प्रयास जारी रहे पनि केही मानिस अझै भग्नावशेषमुनि रहेको अनुमान छ ।

मध्य अफ्रिकी गणतन्त्रमा साना तथा अनौपचारिक खानीहरूमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । सरकारी नियन्त्रणबाहिर हजारौँ मानिस साना स्तरको खानी उत्खननमा संलग्न छन् । खानी मजदुरहरूसँग पर्याप्त सुरक्षा उपकरण नहुने र कमजोर संरचनामा काम गर्नुपर्ने भएकाले सुरुङ भत्किने तथा अन्य दुर्घटनामा ठुलो मानवीय क्षति हुने गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - १२:३९:०३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology