काठमाडौं।भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा फसेकी नुवाकोटकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि सकुशल उद्धार गरिएको छ । बाढी प्रभावित विदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।
उद्धारपछि श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । यसैबीच, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विशेषज्ञ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो । बाढीपछि आयोजनाका विभिन्न संरचनामा क्षति पुग्नुका साथै केही व्यक्ति सुरुङभित्र फसेका थिए । बाढी आएको ११औँ दिनमा नुवाकोटमा ६४ वर्षीया महिला र रसुवामा एक चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि अझै पनि प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारको सम्भावना जीवित रहेको देखिएको छ ।