Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवीघाटस्थित तादीखोलामा एक्रोब्रिज जडान तीब्र

देवीघाटस्थित तादीखोलामा एक्रोब्रिज जडान तीब्र

इच्छाकामना न्युज

२१, भाद्र २०८३
देवीघाटस्थित तादीखोलामा एक्रोब्रिज जडान तीब्र
images

त्रिशूली (नुवाकोट)

images
images

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ ।

भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो ।

नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको पुल निर्माणको नेतृत्व गरिरहनुभएका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।

उहाँको अनुसार भोटेकोशी हँुदै आएको बाढीले पुयाएको क्षतिपश्चात् त्रिशूली नदी वारपार गर्न नुवाकोट र रसुवाका सबै पुल बगाएसँगै प्राविधिक अध्ययनपश्चात् पहिलो पुल देवीघाटमा जोड्न थालिएको हो । नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएकामा देवीघाट जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज पुल जडान गरेर नुवाकोट र रसुवासँगको यातायात सम्पर्क सञ्चालन गरिने योजना रहेको छ ।

“पुल निर्माणका लागि पुरानै जिप प्रयोग गर्न सक्ने अवस्था र धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसँग आउजाउ सञ्चालन गराउन पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण थालिएको छ,” उहाँले भन्नुभयो, “शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ ।”

नेपाली सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा तीन थान मौजुदा राखिएको पुल नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा आउजाउ सञ्चालन गराउन प्रयोग गरिने सेनाले जनाएको छ । सेनासँग ७५ मिटर दूरीका तीन थान पुल मौजुदा राखिएको थियो ।

देवीघाटमा निर्माण थालिएको पुल ५७.५ मिटर लम्बाइ र ५.५ मि चौडाइको छ । बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता बहन गर्न सक्नेछ ।

“बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरेर बनाइएको आधुनिक अमेरिकी रूप भएकाले एक्रोब्रिज थप तीन गुणा बढी बलियो र टिकाउ हुनेछ,” उहाँले भन्नुभयो, “उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिएको हँुदा ठूला भारवहन क्षमतासहित चौडा फराकिलो बनाउन सकिने छ ।

पुल निर्माणका लागि आवश्यक सामग्री गजुरीबाट काठमाडौँ हुँदै नुवाकोट ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानीमा समस्या देखिएको छ । कार्यस्थलमा निर्माण सामग्री आउन र नियमित काम गर्न कुनै अवरोध नभए पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक खटिएका छन् । रासस

 
 

images
प्रकाशित मिति :भाद्र २१, २०८३ आइतवार - १०:४२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology