चितवन । निरन्तरको वर्षासँगै नारायणी नदीको जलसतह तीव्र रूपमा बढिरहेको छ। चितवनको देवघाट क्षेत्रमा नारायणीले बिहानै सतर्कता तह पार गरेकोमा अहिले खतराको तह नजिक पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान १०ः३५ बजेसम्म नारायणी नदीको जलसतह ८।६७ मिटर पुगेको छ। नारायणीमा ९ मिटरलाई खतराको तह मानिन्छ। जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी त्रिशूली नदीको भोर्ले क्षेत्रमा पनि जलसतहले सतर्कता तह पार गरेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै बाढीसम्बन्धी सूचनाका लागि टोल फ्री नम्बर ११५५ उपलब्ध गराएको छ।