तनहुँ, १३ चैत । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ-आबुखैरेनी-पोखरा सडकखण्डको स्तरोन्नतिको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋणमा बन्न लागेको यो सडकको स्तरोन्नतिका लागि आयोजनाले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।
गत वर्ष मंसिर ३ मा सडक स्तरोन्नतिका लागि सडक विभागको एडीबी सडक निर्देशनालयले बोलपत्र आह्वान गरेको थियो । गत वर्ष कात्तिकमा एडीबीको यसका लागि २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो । सन् २०२५ सम्म निर्माण सम्पन्न हने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ ।
सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हने बताइएको छ। नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय किलोमिटरको दूरीमा छ। यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन हिँड्छन् । अहिले यो सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात सहज छैन ।
विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एडीबीले जानकारी गराएको छ। सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाउने लक्ष्य छ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-जामुन्ने खण्डको स्तरोन्नतिको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । गत डिसेम्बरमा चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन-पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा पाएको थियो ।
एडीबीले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको थियो । मुग्लिन देखि पोखराको दूरी करिव ९३ किमि छ। जसमा आँबुखैरेनी देखि पोखराको दूरी ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ। आँबुखैरेनी-जामुने ९४१.४५ किमि० पूर्वी खण्ड र जामुने-पोखरा ९४५ किमि० रहेको छ। जामुने-पोखरा खण्ड विस्तारका लागि अनहुइ काइयुआनले पाएको थियो ।
यस खण्डमा ६७ मेगावट क्षमताको मस्याङ्दी जलविद्युत् गृह रहेको छ। सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो। रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषदले २०७५ चैतमा स्वीकृति प्रदान गरेको थियो। डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले पाएको थियो ।
घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७-७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुन्छ । मुख्य सडकलाई एकअर्काबाट छुट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ। पैदल यात्रुका लागि १-१ मिटरको फुटपाथ हुन्छ।
सर्भिस लेन र मुख्य सडक छुट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ। खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सर्भिस लेन र ढल निर्माण गर्नु नपर्ने भएकाले सडकको चौडा सानो हनेगरी डिजाइन गरिएको निर्देशनालयले जनाएको छ । (इकागजबाट)