Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज पहाडमा फागु पुर्णिमा मनाईदै, कोरोना संक्रमण जोखिमका कारण घरभित्रै मनाउन सरकारी निर्देशन

आज पहाडमा फागु पुर्णिमा मनाईदै, कोरोना संक्रमण जोखिमका कारण घरभित्रै मनाउन सरकारी निर्देशन

इच्छाकामना न्युज

१५, चैत्र २०७७
आज पहाडमा फागु पुर्णिमा मनाईदै, कोरोना संक्रमण जोखिमका कारण घरभित्रै मनाउन सरकारी निर्देशन

चितवन, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदैछ ।

images

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरी प्रशासनको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि काठमाडौंका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगतका वर्ष जस्तै यस वर्ष पनि कोरोना संक्रमणको विश्वब्यापी प्रभावका कारण फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । घर परिवार भित्रै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरुले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने गर्छन । अनिष्ट टर्छ भन्ने विश्वासका साथ चीर जलाएपछिको खरानीको टीका लगाउने प्रचलन छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको धार्मिक कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्थात फागु खेल्ने परम्परा चलेको धार्मिक विश्वास रहेको छ ।

द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले मात्र छालाको रोग निवारण गर्ने भएकाले त्यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाएर रमाइलो गरिन्छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०७:३३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology