Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यी हुन् गोरखा मनकामनाका मनकारी घरबेटीहरुः जसले गरेका छन् लाखौका घरभाडा छुट

यी हुन् गोरखा मनकामनाका मनकारी घरबेटीहरुः जसले गरेका छन् लाखौका घरभाडा छुट

चित्र बहादुर गुरुङ

२, कार्तिक २०७७
यी हुन् गोरखा मनकामनाका मनकारी घरबेटीहरुः जसले गरेका छन् लाखौका घरभाडा छुट

मनकामना, २ कार्तिक । मनकामना माईको मन्दिर देशकै चर्चित धार्मिक स्थलको रुपमा परिचित स्थान हो। मनकामना मन्दिरमा दर्शनका लागि देश विदेशबाट दैनिक हजारौ दर्शनार्थी आउने गर्छन्। उनै दर्शनार्थीहरुकै भरमा मनकामना बजारको होटल व्यवसाय, पूजा सामाग्री पसल, लगायतका विभिन्न व्यवसाय चल्ने गरेको थियो। तर पछिल्लो समय कोभिड १९ को प्रभावका कारण गत चैत ९ गते देखि मन्दिर बन्द छ। 
मन्दिर बन्द भएसँगै मनकामनामा सञ्चालित रहेका सम्पूर्ण व्यवसायहरु बन्द भएका छन्। लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुदाँ व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन्। उनीहरुलाई व्यवसायका लागि लिएका घरको भाडा तिर्न त के दैनिक गुजारा टार्न समेत कठिन भएको छ। यहिबेला धेरैजसोको घरबेटिसँगको सम्बन्ध बिग्रेका छन्। 
कतिले घरभेटीको दैनिक कचकच सहन नसकेर व्यवसाय नै बन्द गरिदिएका छन्। तर यहि बेला मनकामना बजारका केहि घरबेटीहरु भने मनकारी देखिएका छन्। ती मध्य एक हुन् शहिद लखन गाउँपालिका २ का वडाध्यक्ष समेत रहेका अचलबाबु थापा र खिलमाया थापाको दम्पत्ति। उनीहरुले आफ्नो घर भाडामा लिएर व्यवसाय गर्नेलाई व्यवसाय बन्द भएदेखि सुचारु नभएसम्मको अवधिको घरभाडा पूरै छुट दिने घोषणा गरेका छन्। मासिक १ लाख आउने घरको भाडा छुट घोषणा गर्दै अहिलेसम्म ७ लाख रुपैयाँ भाडा छुट गरेको उनले बताए। उनले भने ‘जुन दिन व्यवसाय सहज हुन्छ त्यहि दिनदेखिको मात्र घरभाडा दिनु भनिदिएका छौं।’ उनको घरमा बझाङका व्यवसायीले लज सहितको होटल सञ्चालन गरेका छन्।

images

achal babu.jpg
थापा दम्पत्तीजस्तै यसरी घरभाडामा बस्ने व्यवसायीलाई पूरै घरभाडा छुटको घोषणा गर्ने मनकामनका कै अर्का मनकारी घरबेटी हुन् कलाकार थापाको दम्पत्ती। थापा दम्पत्तीले पनि भारतको मोतिहारीबाट आएर मिठाई पसल सञ्चालन गरेका व्यवसायीलाई वार्षिक ८ लाख रुपैयाँ तिर्ने गरि दिएको घर भाडा बजार बन्द भएदेखि सहज नभएसम्मको अवधिको भाडा नलिने भएका छन्। ‘त्यहि व्यवसायबाट कमाएर भाडा तिर्ने उनीहरुले व्यवसाय नै बन्द भएपछि कसरी तिर्न सक्छन् र?’ उनले भने। 

kalakar.jpg
मनकामनामा अचल बाबु थापा र कलाकार थापा जस्तै बन्द अवधिभर पूरै घरभाडा छुट गर्ने मनकारी घरबेटी हुन् मन्दिरका पुजारी समेत रहेका रमेश थापा। उनले पनि आफ्नो घरको ४ वटा सटर कोठा प्रति कोठा मासिक २० हजार आउने गरि घरभाडा दिएका थिए तर लकडाउन भएपछि व्यवसाय बन्द छ। बन्द व्यवसाय सहज नहुन्जेल आफुले पनि बन्द अवधिको पूरै घर भाडा नलिने बताएका छन्। त्यसो त उनले घरभाडा वार्षिक रुपमा नै अग्रिम भुक्तानी लिएका थिए। त्यसैले बन्द अवधिलाई मिनाहा गरि पछि थप गर्ने वा व्यवसायीलाई नै फिर्ता गर्नका लागि आवश्यक छलफल भैरहेको बताए। 

ramesh.jpg
मनकामनामा घरभाडा छुट दिने मनकारी घरबेटीहरु अरु पनि छन्। भिम श्रेष्ठ, अमित श्रेष्ठ लगायतले पनि आफ्नो घरमा भाडामा बस्नेलाई बन्द अवधिको पूरै घरभाडा छुट दिएका छन् भने अधिंकाशले कम्तीमा ५० प्रतिशतसम्म भाडा छुट गर्न तयार रहेको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार ईकाईका अध्यक्ष हरी श्रेष्ठले बताउनुभयो। अध्यक्ष श्रेष्ठले भने यसले व्यवसायी साथीहरुलाई ठूलो राहत मिलेको छ।
गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार ईकाईमा आवद्ध २ सय भन्दा बढि व्यवसायीमा आधा भन्दा होटल व्यवसाय छन्। लकडाउनका कारण विगत ७ महिनादेखि बन्द मनकामना बजार खुल्न नसक्दा कति पय व्यवसायी पलायन समेत भएका छन्। यस अवधिमा ४ जना व्यवसायीले व्यवसाय नै बन्द गरेको ईकाईका अध्यक्ष हरी श्रेष्ठले बताउनुभयो। 

manak.jpg
सरकारले मठमन्दिर र धार्मिक स्थलहरु अहिलेसम्म खोल्न दिएका छैनन् भने कहिले खुल्छ भन्ने पत्तो छैन। मनकामना माईको दर्शनमा आउने दर्शनार्थीको भरमा चलेका मनकामनाका व्यवसायहरु डामाडोल हुने अवस्थामा पुग्ने देखिन्छ भने व्यवसायीहरु विस्तापित हुने देखिन्छ। त्यसैले यो बेला मनकामनाका अन्य घरबेटीहरुले समेत मानवता देखाउनुपर्ने बेला आएको छ। साथै मनकामनाको व्यवसाय र व्यवसायी जोगाउनका लागि पनि सरोकारवाला सबैले पहलकदमी गर्नुपर्ने देखिन्छ। 

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १२:१३:२५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology