युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। रियल मड्रिड र म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएसँगै लिगको समिकरण पूरा भएको हो ।
गयराति भएको खेलमा क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बरारबरीमा रोकिए पनि रियलले समग्रमा ३–१ को जित हासिल गर्दै अन्तिम चारको यात्रामा स्थान बनाएको हो। रियलले पहिलो लेगमा ३–१ को जित प्राप्त गरेको थियो।
रियलले दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो। रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।चेल्सीले एफसी पोर्टोलाई समग्रमा २–१ ले पराजित गर्दै सात वर्षपछि सेमिफाइनलमा स्थान बनाएको हो।
यस्तै राति नै भएको अर्को क्वार्टरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्टलाई २–१ ले पराजित गरी समग्रमा ४–२ को नतिजा निकाल्दै अन्तिम ४ को यात्रा तय गरेको हो ।
सिटीले च्याम्पियन लिगमा दोस्रोपटक सेमिफाइनल यात्रा तय गरेको हो। सिटीले लिगको दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।