देवघाट, १६ जेठ । तनहुँको देवघाट गाउँपालिकामा गुरुङ, मगर समुदायको सँस्कृति झल्काउने साँस्कृतिक घरको निर्माण हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित रहेको रातामाटे सुन्दरवस्ती नमुना गाउँमा साँस्कृतिक घरको निर्माण हुने भएको हो।
गाउँपालिकाले पहिलो पटक निर्माण गर्न लागिएको घरको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आज एक कार्यक्रमका बिच शिलान्यास गरेका छन्। साँस्कृतिक घरको शिलान्यास गर्दै पहिलेदेखि चलि आएको चालचलनलाई संरक्षण गर्नुपर्छ भन्ने हेतुले साँस्कृतिक घरको निर्माण गर्न लागिएको देवघाट गाउँपालिकाका अध्यक्ष थापाले बताए।
‘‘हाम्रो सँस्कृति हाम्रो पहिचान’ भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाले पहिलोपटक वडा नम्बर ५ मा साँस्कृतिक घरको निर्माण गर्न लागिएको हो’ –उनले भने। कोरोना महामारीकै बिच न्युन व्यक्तिहरूलाई सामेल गराई सामाजिक दुरी कायम गरि सो साँस्कृतिक घरको शिलान्यास गरिएको थापाको भनाइ थियोे।

देवघाट गाउँपालिका वडा नम्बर ५ रहेको रातमाटे सुन्दरवस्ती नमुना टोल विकास संस्था वडा भित्रका नमुना टोल विकास संस्था मध्य एक संस्था हो। जसको नेतृत्वमा जहाँ दुईवर्षको अवधिमा धेरै कामहरू भएका छन्।
आगामी दिनहरूमा अझ धेरै राम्रो कामहरू गरिने प्रतिबद्धता जनाउँदै तत्कालका लागि भने गुरूङ र मगर समुदायलाई मध्यनजर गर्दै अन्य जातजातिहरूको संस्कृतिलाई पनि सामेल गराउन मिल्ने खालको साँस्कृतिक घर बनाउन लागिएको रातमाटे सुन्दरवस्ती नमुना टोल विकास संस्थाका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठले जानकारी गराए।
उनले कार्यक्रममा बोल्दै रातामाटे सुन्दरवस्ती अहिले यो अवस्थासम्म पुग्नुमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा एवं वडा नं ५ का वडाध्यक्ष याल बहादुर गुरुङको ठुलो हात रहेको बताए।
यस्तै उनले कोरोना महामारीको समयमा पनि बाहिरको मान्छेहरूलाई आवातजावतमा रोक लगाइ आफ्नो स्थानमा धेरै कामहरू भएको बताए। एक हप्ताको समय अवधि भरमा साँस्कृतिक घर निर्माण सम्पन्न गर्ने बताउदै त्यस लगत्तै रातामाटे सुन्दरवस्ती टोलभित्र ग्राबेल बिछ्याउने र आगामी दिनहरूमा सो टोलको म्याप तयार गर्ने, त्यस स्थानलाई अझ शोभा बढाउनको लागि सोलाईटको व्यवस्था गर्ने, एउटा सानो माछा पोखरी निर्माण गर्ने, शिवलिङ्ग तयार पार्ने, जलदेवि स्थापना गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराए।
उनले साँस्कृतिक भवन निर्माणपछि अझ नयाँ उर्जा थप हुने बताउदैँ देवघाटलाई नाचगानको क्षेत्रमा मात्रै नभएर खेलकुद क्षेत्रमा पनि अघि बढाउनु पर्छ भन्ने मनोभावनाका साथ महिला भलिबल कोट स्थापना गर्ने बताए। भावि दिनहरूमा देवघाट आउने पाहुनाहरूको लागि रातामाटे सुन्दरवस्ती नमुना गाउँ एक पटक भएपनि पुगेरै जाउँ भन्ने मनोभावना दर्शाउने खालको क्षेत्र बनाउने श्रेष्ठको भनाइ थियोे।

साँस्कृतिक घरको बिचमा आँगो बाल्ने अगेना र सोही अगेनाको एकापट्टि महिला र अर्कोतिर पुरूष बस्ने ठाउँ र एकातिर नाच्ने ठाउँ राख्ने, महिला र पुरूष छुट्टाछुट्टै स्थानमा बसेर आफ्नो संस्कृति अनुसार दोहोरी गाउँने र हस्तकला मार्फत निर्मित विभिन्न सामाग्रीहरू हलो, डालो , चकटी, सोलि, मादल इत्यादि सम्पूर्ण संस्कृतिको झल्को दिने खालको सामग्रीहरू झुन्डिएर राख्ने सोभा देखाउने खालको घर निर्माण गर्न लागेको बताए।
सो भवन पाँच आना जमिनमा निर्माण गर्न लागेको हो। देवघाट गाउँपालिकाले निर्माण गर्न लागेको साँस्कृतिक भवनले यस स्थानलाई अघि बढ्नको लागि प्रेरणा मिल्ने र एउटा राम्रो सँस्कृति झल्काउने राष्ट्रिय कलाकार एवम् मगर साँस्कृतिक दुत बलबिक्रम थापाले बताएका थिए। उनले अबका दिनहरूमा सुटिङ्गको क्रममा साँस्कृतिक झल्काउने खालको भवन खोज्नको लागि अन्त जान नपर्ने बताउदैँ अब यसैलाई एउटा नमुनाको साँस्कृतिक घर बनाउने बताए। साथै साँस्कृतिक क्षेत्रमा आगामी दिनहरूमा आफुले यस ठाउँलाई गर्नुपर्ने र सकेको कुराहरू सिकाउदै अघि बढ्ने प्रतिबद्धता जनाए।