Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जाडोमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुको सुझाव

जाडोमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुको सुझाव

पत्रपत्रिका

१३, कार्तिक २०७७
जाडोमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुको सुझाव

काठमाडौं, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् ।

images

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’

उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । कुल सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ मध्ये ४९.६३ प्रतिशत काठमाडौं उपत्यकामा छन् । कोभिडले हुने मृत्युदर बढिरहेको छ । हालसम्म पीसीआर परीक्षण गरेर कोभिड संक्रमण देखिएकामध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । देशभरमा कोभिड संक्रमितमध्ये ३२ प्रतिशत मात्र महिला भए पनि पछिल्ला दिनमा यो प्रतिशत बढिरहेको छ ।

गत शुक्रबार कुल संक्रमितको ३७.५६ प्रतिशत, शनिबार ३५.०१ प्रतिशत, आइतबार ३७.३५ प्रतिशत, सोमबार ३८.८८ प्रतिशत, मंगलबार ३७.०१ प्रतिशत र बुधबार ३८.७९ प्रतिशत महिला छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सक्रिय संक्रमितमध्ये ०.१० प्रतिशत व्यक्ति सघन उपचारमा छन् । हाल २ सय ९० जना आईसीयू र ७२ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । ‘देशभरिमा मंगलबार ५ सय ७० जनामा कोभिड पोजिटिभ देखिँदा मृत्यु हुनेको संख्या १४ पुग्नु बढी हो,’ डा. पाण्डेले भने, ‘पछिल्ला दिनमा परीक्षण कम भए पनि आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको मृत्यु भइरहेको छ ।’

दसैंताका कोभिड–१९ को परीक्षण कम भएको छ । कुल पीसीआर परीक्षणमा बुधबार २३.६९ प्रतिशतलाई संक्रमण देखिएको छ । मंगलबार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणबाट ५ सय ७० जना (२५.४ प्रतिशत) मा संक्रमण पाइएको थियो । संक्रमणको दर सोमबार ३४.७७ प्रतिशत, आइतबार २३.१९ प्रतिशत र शनिबार २९.७ प्रतिशत थियो । कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । बुधबार मात्र २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५ वटा नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुनाको परीक्षण गरियो । कान्तिपुरमा खवर प्रकाशित छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०९:०३:०१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology