काठमाण्डौ, १३ कार्तिक । महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध १ सय ५४ वटा खोप विकास भइरहेको छ । यी मध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ।
यसबाहेक इबोलाविरुद्ध प्रयोग हुने रेम्डिसिभर नामक खोप कोरोना विरुद्धको उपचारमा पनि प्रभावकारी देखिएको छ। कोरोना सङ्क्रमणका सुरुका दिनमा नेपालमा १ लाख रुपैयाँसम्म रेमडिसिभरको खरिदबिक्री भयो तर सरकारले नै यो खोप प्रयोगको अनुमति दिएपछि अहिले एक भाइलको ६ हजार चार सय रुपैयाँ तिर्नुपर्छ। एक पटक मात्रा पुग्ने गरी राखिएको एक सिसीलाई एक भाइल भनिन्छ। कोरोना सङ्क्रमित बिरामीलाई दुई चरणमा रेमडिसिभर औषधिको थेरापी दिइन्छ। जसमा सामान्य अवस्थामा रहेका बिरामीलाई ५ भाइल र अक्सिजन सहितको बिरामीलाई ११ भाइल दिनुपर्ने चितवनको भरतपुरस्थित कोभिड अस्पतालका संयोजक डा. प्रमोद पौडेल बताउनुहुन्छ।
नेपालमा रेमडिसिभर औषधि आयातका लागि भारतका तीनवटा कम्पनीले मान्यता पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर तोकिएका औषधि पसल र औषधि उद्योगबाट मात्रै यो औषधि चिकित्सकको सिफारिसमा खरिद बिक्रि गर्न भनेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो। औषधि व्यवस्था विभागका अनुसार हालसम्म नेपालमा १५ हजार भाइल रेमडिसिभर आइसकेको छ भने बङ्गलादेशबाट १० र भारतबाट ६ हजार भाइल आउँदैछ।
यसैबीच,नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुलाई रेम्डिसिभर र प्लाज्मा थेरापी पद्धतिबाट संयुक्त रुपमा गरिएको उपचार प्रभावकारी पाईएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानबाट कोरोना सङ्क्रमितको लागि रेम्डिसिभर र प्लाज्मा थेरापी दुबै बिधिबाट गरिएको उपचार प्रभाबकारी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिब डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो।