काठमाडौं, १ असार । नेपाली तेक्वान्दो प्रशिक्षकहरुद्धारा हङकङमा सञ्चालित फरेनर हङकङ तेक्वान्दो संघले सोमबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
ड्रयागन बोट फेस्टिभलको अवसरमा संघले हङकङको लङ पिङ हाइकिङ हिलको सफाई गरेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक चेतन गुरुङले जानकारी दिए । हङकङमा पछिल्लो समय हाइकिङ जाने संस्कार बढेको छ । यद्यपि, हाइकिङ जानेहरुले सरसफाई नगर्दा हङकङका डाँडाहरु फोहोरले भरिन थालेका छन् ।

सोही कारण संघले आफ्नो कार्यालयबाट नजिकको लङ पिङ हाइकिङ हिलको सफाई गरेको प्रशिक्षक गुरुङले जानकारी दिए । ‘हामी जहाँ बस्छौं त्यो हाम्रो घर हो । त्यस वरिपरीको सरसफाई पनि हामीले नै गर्नुपर्दछ’, प्रशिक्षक गुरुङले भने, ‘त्यही जिम्मेवारी बोध गर्दै हामीले सरसफाई गरेका हौं ।’
सरसफाई कार्यक्रममा संघका प्रशिक्षक, खेलाडी लगायत सहभागी थिए । तेक्वान्दोका सात जना प्रशिक्षकहरुले सञ्चालन गरेको संघ हङकङको पुरानो तेक्वान्दो संघ हो, त्यसले पछिल्लो लामो समयदेखि तेक्वान्दो खेलको प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।