देवघाट, १४ कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको भुजेल बस्तीलाई रोटरी क्लब अफ नारायणगढले अब नमुना बस्ती बनाउने भएको छ। बिहिबार एक कार्यक्रमका बिच प्रमाण पत्र हस्तान्तरण गर्दै रोटरी क्लब अफ नारायणगढले उक्त बस्तीलाई नमुना बस्ती बनाउने घोषणा गरेको हो।
कार्यक्रममा आर.सि.सि.व्यवस्थापनका अध्यक्ष आईतमाया भुजेललाई प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष र रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले संयुक्त रूपमा नमुना बस्ती बनाउनका लागि प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको पिछडिएका वर्ग भुजेल समुदाय रहेको बस्तीलाई नमुना बस्ती बनाउन रोटरी क्लब अफ नारायणगढ अगाडि बढेकोमा खुशी व्यक्त गर्दै देवघाट गाउँपालिकाको पनि साथ र समन्वय रहने बताउनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले देवघाट गाउँपालिकाको बिकास निरन्तर रुपमा अगाडी बढिरहेको बताउदै आगामी दिनहरुमा पनि देवघाट गाउँपालिकाको बिकासको लागि कुनै पनि कसर नराखी विभिन्न संघ र संस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने समेत बताउनुभयो।

सो कार्यक्रमका विशेष अतिथि देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले पनि देवघाट वडा नम्बर ५ साउनेमा रहेको पिछडिएका समुदाय भुजेल बस्तिको बिकासको लागी वडाको तर्फ बाट र आफ्नो व्यक्तिगत तर्फ बाट सक्दो सहयोग गर्ने बताउनुभयो।
रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले कार्यक्रममा बोल्दै देवघाट साउनेका पिछडिएको वर्ग भुजेल बस्तीमा भएका समस्यहरुलाई बिस्तारै समाधान गरि नमुना बस्ती बनाउने बताउनु भयो। कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पदाधिकारीहरुलाई देवघाट गाउँपालिका भित्र गरिएको कामहरुको उच्च मुल्यांकन गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले खादा लगाई सम्मान गरिएको थियोे।

कार्यक्रममा देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरन्जन प्रधान, रोटरी क्लब अफ नारायणगढका निवर्तमान अध्यक्ष अरुण खनाल, रोटरी क्लब अफ नारायणगढका सर्भिस प्रोजेक्टर सिनियर गुनिश्वर महोतो, रेडियो देवघाटका म्यानेजर सुभास लामिछाने र साउने जलदेवी आमा समुदायका अध्यक्ष आसमाया गुरुङ लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम साउने आर.सि.सि.ब्यबस्थापन संस्थाका अध्यक्ष आईतमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
