काठमाण्डौ, १३ साउन । सरकारले नेपाललाई २०८४ साल सम्ममा आँपमा आत्मनिर्भर राष्ट्र बनाउने नीति लिएपनि वर्षेनी आँपको आयात भने बढीरहेको छ । । नेपालमा हरेका वर्ष भारतवाट मात्रै १ लाख मेट्रिक टन भन्दा बढि आँप आयात हुने गरेको छ ।
नेपालमा मुख्य गरि भारत र त्यसपछि चीन, थाइल्यान्ड, पाकिस्तान र फिलिपिन्स बाट पनि आँप आयात हुने गरेको छ । पछिल्ला बर्षमा आँप आयातको तथ्याङ्क क्रमशः बढ्दै गएको छ । २०७१ सालमा भारतबाट मात्रै २२ करोडको आँप आयात भएकोमा गत वर्षमा भने ६९ करोडको आँप आयात भएको भन्सार विभाग प्रवक्ता शिशिर घिमिरेले जानकारी दिनुभयो ।
७ वर्ष देखि फलफुल बेच्दै आउनु भएका बौद्दका सुमित कुमार साहले दैनिक ४० किलो सम्म आँप विक्रि गर्दै आउनुभएको छ । जसमा भारतबाट आयात गरिएका आँप धेरै हुन्छन् । हेर्दा आकर्षक,सस्तो र खाँदा गूलियो पनि हुने भएकाले ग्राहकको रोजाइमा भारतीय आँप नै पर्ने गरेको उहाँको भनाई छ । नेपालमा सातै प्रदेशको हावापानी आँप उत्पादनको लागि राम्रो भएपनि मुख्य गरि गर्मि मौसम बढी उत्पादन हुने गरेको छ ।
बिशेष गरि प्रदेश नम्बर २ का सबै जिल्ला सहित २४ जिल्लामा व्यवसायिक रुपमा आँप खेती भइरहेको छ । नेपालमा हाल ३५ जातका आँप उत्पादन हुने गरेका छन् । गतवर्ष नेपालमा ३ लाख ६६ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । तर प्रत्येक बर्ष नेपालमा कम्तिमा ४ लाख ५० हजार मेट्रिकटन आँप खपत हुन्छ ।
यसरी हेर्दा नेपालमा अब उत्पादन सरदर १ लाख मेट्रिकटन बढाउन सकेको खण्डमा आँपमा आत्मनिर्भर हुन सकिने राष्ट्रिय फलफुल विकास केन्द्रका प्रमुख डा. शान्ता कार्कीले बताउनुभयो ।
राष्ट्रिय फलफुल विकास केन्द्रका अनुसार नेपालमा फलफूलको खेती हुने कुल क्षेत्रफल मध्य ४९ हजार ५ सय ८८ हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । व्यवसायिक खेतीलाइ बिस्तार गरि अबको ६ बर्ष भित्रमा आँपमा आत्म निर्भर हुने गरि काम गरिरहेको सरकारको भनाइ छ ।
नोटः उल्लेखित समाचारमा प्रकाशित फाईल फोटो अन्यथा पर्न गएकोले सच्याईएको जानकारी गरिन्छ। सं.