काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चार माध्यमलाई नयाँ सोचका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारी सञ्चार माध्यमहरुमा देखिएका कमी कमजोरी पत्ता लगाई नयाँ सोचका साथ अघि बढाउन ती संचार गृहहरुको अनुगमनको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि स्पष्ट पारे ।
बुधबार अपरान्ह गोरखापत्र संस्थानको अनुगमन गर्ने क्रममा उनले गोरखापत्र संस्थानलाई संचार केन्द्रको रुपमा स्थापित गराउने गरी कार्य योजना बनाउन संस्थानमा कार्यरत विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।
‘सबैलाई सुःखी र खुसी बनाउने उद्देश्यका साथ एक सय १८ वर्ष अघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प अनुसार अघि बढाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने,‘त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नु पर्दछ ।’
मन्त्री गुरुङले गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाललगायतका सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन आवश्यक ऐन, कानुनको निर्माण गर्न आफू लागिपर्ने उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सरोकारवाला निकायसँग आग्रह गरे ।
मन्त्री गुरुङले बदलिँदो परिवेश अनुसार अघि बढाउन पनि गोरखापत्र संस्थानका पदाधिकारीलाई आग्रह गरे । उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा प्रशारणको काम गर्न विशेष ध्यान दिन पनि सरकारी संचार माध्यामलाई सचेत गराए ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीहरुको व्यवस्थापनमा ध्यान दिन गोरखापत्र संस्थानका पदाधिकारीहरुलाई सुझाव दिए भने संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुमारी भण्डारीले निजी क्षेत्रको संचार गृहसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा गोरखापत्र संस्थान पुगेको बताए ।