चितवन, २२ कार्तिक । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। भरतपुर महानगरपालिका स्थित पटिहानीमा रहेको होटल क्रोकोडाइलको सभाहलमा सिमित संख्यामा सदस्यहरुको उपस्थिति गराई संघको १६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको हो।

संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङको सभापतित्वमा सम्पन्न सभामा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक भिम बहादुर गुरुङको प्रमुख अतिथि रहनुभएको थियो।

यस्तै संघका उपाध्यक्षहरु लाल प्रसाद गुरुङ, शुक बहादुर गुरुङ, महिला समिति अध्यक्ष इन्द्रा कुमारी गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायत अतिथिहरुको सहभागिता रहेको सभामा कार्यक्रम सञ्चालन संघका सचिव विक्रम गुरुङले गर्नुभएको थियो।

उक्त सभामा तमु प्ये ल्हु संघ चितवनले विभिन्न समयमा सञ्चालन गरेका अभियानहरुलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्नुका साथै झण्डै साढे ३ वर्षसम्म निःशुल्क रुपमा संघको कार्यालय सञ्चालनको लागि कोठा उपलब्ध गराउनुहुने घरबेटी एवं महिला समितिका संयोजक इन्द्रा कुमारी गुरुङ र टेक बहादुर गुरुङको दम्पतीलाई खादा लगाएर मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।

