सुसीला श्रेष्ठ, काठमाडौँ, ३१ भदौ । अहिले धान गोडमेल पछि मल हाल्ने समय भएपनि किसानले मल पाउन सकेका छैनन् । रौतहटको बृन्दाबन नगरपालिका ८ का विरेन्द्र राय यादबलाई आफ्नो ३ विगाह धान खेतका लागि युरिया मलको आवश्यकता परेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड रौतहट शाखाले मल सकियो भनेर वितरण बन्द गरेको ५ दिन भयो । गोड्ने समयमा मल हाल्न नपाएपछि धान उत्पादन घट्ने चिन्ता बढेको यादव बताउनुहुन्छ । बृन्दाबन नगरपालिकामा मात्र ३५ हजार किसानले मलको माग गरेका छन् । तर मल भने ७ हजार किसानलाई पुग्ने मात्रै रहेको छ ।
दाङको लमहि नगरपालिकाकामा पनि आवश्यक मध्य ४० प्रतिशत किसानले मात्रै मल पाएका छन् । विहान ७ बजे देखि लाईनमा बस्दा पनि मल नपाएकोकिसान पेशन अधिकारी बताउँनुहुन्छ । सरकारले भने माग अनुसारको पूर्तीका लागि आवश्यक बजेट अभाव भएको बताउने गरेको छ । माग अनुसारको परिपुर्तिका लागि मल आपुर्ती नहुदा किसानले सधैँ मलको अभाब झेल्ने गरेका छन् ।
हाल ५० प्रतिशत किसानलाई पुग्ने खाद्य मल मात्रै आयात भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताउनुभयो । कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका अनुसार नेपालमा बर्षेनी कम्तीमा ७ लाख मेट्रीक टन मल आवश्यक पर्दछ । तर सरकारले चालु आर्थीक वर्षका लागि ३ लाख मेट्रिक टन मल आपुर्ती गर्न सकिने गरि १२ अर्ब रुपैँया मात्रै बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले असोज ५ गते भित्रै बंगलादेशवाट ३० हजार मेट्रिक टन र चीनवाट १० हजार मेट्रिक टन मल आईपुग्ने जनाएको छ । तर, मल आयातमा ढिलाइ हुँदा पसाउन लागेको धानमा समयमा नै मल हाल्न नपाएपछि उत्पादन घट्ने किसानको चिन्ता छ ।