Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण होः सांसद रावल

सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण होः सांसद रावल

इच्छाकामना न्युज

२७, कार्तिक २०७७
सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण होः सांसद रावल

चितवन, २७ कात्तिक ।  राष्ट्रिय सभाअन्र्तगत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले हरेक व्यक्तिव्यक्तिको सहयोगमा सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण भएको बताएकी छन् ।

images

रंगशाला निर्माण स्थलमा गत माघ १९ गते देखि २६ गतेसम्म सञ्चालित धनधान्याचल महोत्सव स्मारिकाको बिहीबार भएको विमोचन समारोहमा सभापति रावलले अहिलेको प्रतिकुल अवस्थामा पनि रंगशाला निर्माण भइरहनु खुसीको कुरा भएको बताइन् । उनले भनिन्, ‘ अहिले चितवनमात्र नभएर सिंगो देश रंगशाला निर्माणमा अगाडि जुटिरहेको छ । यस क्षेत्रको संसदको नाताले संघीय सरकार पनि तपाइँहरुको साथमा रहेको छ ।’ इतिहास रच्न अगाडि बढिरहेको राष्ट्रिय गौरवको आयोजना भएकोले पनि रंगशाला निर्माणमा तीनै तहको सरकारको साथ र सहयोग रहने उनले आश्वासन दिइन् ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले रंगशाला धनधान्याचल महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिए । धनधान्याचल सञ्चालनमा मात्र नभएर यस भन्दा बाहिर रहेर पनि रंगशाला निर्माणको कामलाई निरन्तर सहयोग रहने सांसद सुवेदीले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफूहरुले रंगशाला निर्माणमा जवाफदेहिता, इमान्दारिता र पारदर्शिताको साथ काम गरिरहेको बताइन् । उनले भनिन्, ‘ कोरोना महामारीको प्रतिकुल अवस्थामा पनि निर्माणको काम रातदिन नभनी अगाडि बढ्नु आफैमा खुसीको विषय हो । यस निर्माण कार्यमा २६ हजार बढी चितवनका नागरिकको प्रत्यक्ष सहयोग रहेको छ ।’ सबैको सहयोग र हौसलाले भरतपुर महानगरपालिकालाई थप हौसला मिलेको नगर प्रमुख दाहालले बताइन् । सबै व्यक्ति व्यक्तिको उत्साहजनक सहभागितामा जनस्तरबाट निर्माण हुँदै गरेको रंगशाला निर्माणमा महानगरपालिकाले सबै प्रकारको सहयोग गरिरहेको उनले दाबी गरिन् । उनले भनिन्, ‘ भरतपुरको रंगशाला निर्माण काठमाडौँ मुलपानीको जस्तो अलपत्र हुनेछ भनेर धेरैले आलोचना पनि गरेका थिए । तर, हामी त्यस्तो हुन दिँदैनौं हर हालतमा बनाइ छाड््ने छौं ।’

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले रंगशालाले कठिन परिस्थितिहरु पार गर्दै अगाडि बढिरहेको बताए । कोरोना भाइरसको महामारीमा पनि काम नरोकी निरन्तर काम गरिरहेको बताउँदै संरचनाको विषयमा कुनै द्विविधा नलिइ ढुक्क भइदिन अनुरोध गरे । उनले भने, ‘ रंगशालाको निर्माण छिटो सक्नको लागि सबैले साथ दिनुनै हुनेछ भन्ने आशा गरेका छौं ।’

धनधान्याचल मूल आयोजक समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीको अध्यक्षतामा भएको स्मारिका विमोचन कार्यक्रममा स्मारिका प्रकाशन समितिका संयोजक रमाकान्त सापकोटाले सबै विकासको लागि खेल मुख्य आधार भएकोले चितवनमा अन्तर्राष्ट्रिस्तरको रंगशाला निर्माण हुनुले बहुआयामाकि विकासमा सहयोग गर्ने बताउनुभयो । संयोजक सापकोटाले रंगशाला निर्माण अभियानबाट भावनात्मक एकता र व्यापक जनसहभागिताकासाथ लक्ष्यभन्दा बढी उपलब्धि हासिल भई रगंशाला निर्माण हुने कुरा सुनिश्चित भएको बताए । उनले धनधान्याचल महोत्सवले ‘हामी बनाउँछौं, हाम्रो रंगशाला’ भन्ने उद्घोष सार्थक भएकोमा खुसी व्यक्त गरे । स्मारिकाका प्रधान सम्पादक केदारनाथ खनालले कार्यक्रममा कोरोना महामारीको अवस्थामा पनि निकै मेहनतका साथ प्रकाशनको कामलाई निरन्तरता दिइएको बतए ।

त्यसैगरी स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवनका अध्यक्ष यमबहादुर परियारले ऐतिहासिक भूमि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु गौरवको विषय भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले रंगशाला निर्माणमा प्रत्येक जनताको रगत, पसिना र पैसा परेकोले निर्माण पक्षले सजग भएर काम गर्नुपर्ने विचार राखे । उनले भने, ‘ नेपाली कांग्रेस चितवन रंगशाला निर्माणमा आवश्यक सहयोग गर्न सधै तत्पर छ ।

त्यस्तै धनधान्याचल महोत्सव मूल अयोजक समितिका महासचिव दिनेश चुकेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै महोत्सवमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा धनधान्याचल मूल आयोजक समिति र उपसमितिका संयोजकहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

२१२ पृष्ठमा प्रकाशित धनधान्याचल महोत्सव स्मारिका महोत्सवमा हरेक दिन भएका गतिविधिहरु, रंगशाला निर्माणसँग सम्बन्धित विभिन्न लेख तथा रचना, फोटो, शुभकामना सन्देश, अन्तर्वार्ता र चन्दादाताहरुको नामावलीलाई समावेश गरिएको छ । स्मारिका विश्वविद्यालयका अध्ययन अध्यापन गर्नेहरु तथा सामाजिक अनुसन्धान गर्न चाहनेहरुको लागि महत्वपूर्ण दस्तावेज बनेको प्रकाशन समितिले दाबी गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १६:२८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology