Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बिक्री गर्न तयार भएको बन्दा किसानको खेतमै कुहियो

बिक्री गर्न तयार भएको बन्दा किसानको खेतमै कुहियो

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
बिक्री गर्न तयार भएको बन्दा किसानको खेतमै कुहियो

सीपी लोहिया, बैतडी,२८ कात्तिक । बैतडीमा व्यवसायी तरकारी खेतीमा आबद्ध किसानहरूले बजारभाउ नपाउँदा बिक्री गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांश ठाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतमै कुहिएको छ । 

images

कात्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको हो । वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोभी खेतमै कुहिएको सुर्नया-६ का दामोदर अवस्थीले बताए । ‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर बजार नपाउँदा गाई बस्तुलाई खुवाउनु परेको छ । तीन महिनासम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गयो । यो खेतमा मकै लगाएको एक वर्ष खान पुग्ने थियो । तर, बन्दागोभी लगाएर सही नसक्नु घाटा भयो ।’ 

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसान मारमा परेका छन्। बारीमा बेच्न ठिक्क परेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका-१ मरतोलाका किसान पूर्णानन्द भट्टले बताए । 

'मैले मेरो खेतमा लगाएको बन्दागोभी ५ प्रतिशतसमेत बचाउन सकेन । बन्दा कुहिएर खेतभरी गन्हाएको छ । मेरो मात्रै नभई हाम्रो गाउँभरी करिब ५० बढी किसानको सबै बन्दा कुहिएको छ,’ उनले भने। गत वर्ष ४० देखी ६० रुपैयाँ प्रति केजीमा बिक्री भएको बन्दा यसपालि १० रुपैयाँ केजीमा समेत बेच्न मुस्किल भएको उनले बताए ।  

कात्तिक महिनाको सुरुवातको भएको अविरल वर्षा कारण किसानको खेतमा लगाएको बन्दा, टमाटरलगायतको तरकारी कुहिएको किसानले बताएका छन् । दशरथचन्द नगरपालिका- १का केशवराज भट्टले भने,‘कुनै बेला किसानलाई चाहिएको वर्षा नहुँदा समस्या हुन्छ भने, कुनै बेला अत्यधिक वर्षाले पुरै खेतीपाती सखाप गरिदिन्छ । अहिले तीन दिनको वर्षाले सबै तरकारी नष्ट गरिदियो ।’

यता कृषि ज्ञान केन्द्र बैतडीले भने किसानकै कमजोरीका कारण तरकारी कुहिएको जनाएको छ । कृषि सम्बन्धी कुनै पनि ज्ञान नलिई देखासिकीको भरमा मात्रै बन्दा उत्पादन गर्न खोज्दा उचित व्यवस्थापनको कमजोरीले कुहिएको कृषी अधिकृत गोपाल दत्त भट्टले बताए । 

‘ठाउँ-ठाउँमा संकलन केन्द्र रहेका छन् । कृषकहरूले संकलन केन्द्रसम्म पनि समन्वय गर्न सकेनन् । त्यसैका कारण यो अवस्था आएको हो । बैतडीमा संकलन केन्द्र नभए पनि डडेलधुरामा संकलन केन्द्र छ', उनले भने। 

बैतडीमा ३१ हजार चार सय पचासी हेक्टर जमिन तरकारी खेती गर्न योग्य भएको र अहिले पच्चिस हजार सात सय हेक्टर जमिनमा तरकारी खेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्ला भरि ९३ हेक्टर जमिनमा बन्दा खेती गरिएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २१:१२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology