Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्

सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्

न्युज कारखाना

२१, मंसिर २०७८
सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्
images

काठमाडौं, २१ मंसिर । जब हामी 'शिव' भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ ।

images
images

‘शि–व’— ‘त्यो जुन छैन’

'शिव' को शाब्दिक अर्थ हो, 'त्यो जुन छैन ।' आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्- छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई 'शि-व' भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।

शिव- अन्धकार ! 

त्यसैले, शिवलाई 'अस्तित्वहीन' भनिन्छ- अस्तित्व होइन । शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ । प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने, प्रकाशको स्रोत जेसुकै भएपनि- चाहे बिजुली बल्ब होस् वा सूर्य- अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ । प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन । यो सदैव सीमित सम्भावना हो, किनकि यसको शुरु र अन्त्य हुन्छ । उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो । किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन, यो सधैँ रहिरहन्छ- अन्धकार शाश्वत हो । अन्धकार जताततै हुन्छ । अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ ।

तर, यदि मैले 'दिव्य अन्धकार' भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन् । खासमा भन्नुपर्दा, पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन् ! तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने, सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन । शिव शब्दको प्रयोग नगरिकनै, मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु । उनीहरू जिल्ल पर्छन् । "ए त्यस्तो पो हो ? यो पहिल्यै थाहा थियो ? कहिले ?" हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ । लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ । यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन् ।

शिव- आदियोगी र आदिगुरु

अर्को स्तरमा, जब हामी शिव भन्छौँ, हामी एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छाैँ, जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग–विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् । योग, टाउकोको भरमा उभिने वा जबर्जस्ती श्वास रोक्ने बारेमा होइन । योग यस्तो विज्ञान र तकनिकी हो, जसमार्फत हामी यो जीवन मूलतः कसरी सृजना भएको छ अनि यसलाई परम सम्भावनासम्म कसरी लैजान सकिन्छ भनेर जान्न सक्दछौँ ।

योग विज्ञान, सबैभन्दा पहिले केदारनाथबाट केही दुरी माथि रहेको कान्तिसरोवर तटमा सञ्चार गरिएको थियो, जहाँ आदियोगीले आफ्ना सात शिष्यहरूमाझ यो भित्री तकनिकीलाई व्यवस्थित रूपमा प्रतिपादन गरेका थिए । यी सातजना शिष्यहरूलाई यस संस्कृतिमा सप्तऋषिको रूपमा चिनिन्छ र पुजिन्छ । योग विज्ञान सम्पूर्ण धर्महरूभन्दा पहिल्यै रहेको थियो । मानिसहरूले मानवतालाई विभिन्न चरणहरूमा अपाङ्ग बनाउने युक्तिहरू निकाल्नु अघि नै मनुष्यको चेतनालाई माथि उकास्नको लागि जरूरी रहेका शक्तिशाली साधनहरू जानिएको थियो अनि फैलाइएको थियो ।

शिव- एउटै शब्दका दुई अर्थहरू

अतः शिव शब्दले "त्यो जुन छैन" अनि "आदियोगी" दुवैलाई जनाउँछ । किनकि, यी दुवै पर्याय हुन् । यी— जो योगी हुन्— अनि त्यो— जुन अस्तित्वको आधार हो— दुवै एकै हुन् । किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन् । यदि तपाईंले अस्तित्वलाई एक क्षणको लागि पनि आफूमा समाहित गर्नुपर्ने हो भने, तपाईं त्यो शून्यता बन्नुपर्छ । शून्यताले मात्रै सबैथोकलाई थामेर राख्न सक्दछ । कुनै वस्तुले सबैथोक थाम्न सक्दैन । एउटा भाँडोमा समुद्र अटाउन सक्दैन । यो ग्रहमा समुद्र अटाएको छ, तर यसमा सौर्य मण्डल अटाउन सक्दैन । सौर्य मण्डलमा केही ग्रहहरू र सूर्य अटाएका छन्, तर यसमा बाँकी आकाशगङ्गाहरू अटाउन सक्दैनन् । यदि तपाईं यसैगरी जानुभयो भने, अन्ततः तपाईंले यो देख्नुहुनेछ कि शून्यताले मात्रै सबैथोक आफूमा समाहित गर्न सक्दछ । योग शब्दको अर्थ मिलन हो । योगी ती हुन्, जसले यो मिलन वा एक हुनुको अवस्थालाई अनुभव गरेका हुन्छन्— अर्थात्, कम्तीमा एक क्षणको लागि भएपनि उनी पूर्ण शून्यता बनेका हुन्छन् ।

शिव शब्दका दुई अर्थहरू— "त्यो जुन छैन" र "आदियोगी"— एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन् । यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर–दोहोर गरिरहन्छौँ । यो क्षणमा हामी शिवलाई शून्यता (जसभन्दा पर केही छैन) भनेर सम्बोधन गर्छाैँ; अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छाैँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए ।

शिव- जे होइनन् !

दुर्भाग्यवश, अहिले अधिकांश मानिसहरूलाई प्रचलित क्यालेन्डरको तस्विरमार्फत शिवसँग परिचय गराइएको छ । ती क्यालेन्डरहरूमा, शिवलाई पुक्क गाला भएको र निलो वर्ण भएको देवताको रूपमा देखाइने गरिन्छ, किनकि क्यालेन्डरका चित्रकारहरूसँग एउटा मात्र तस्विर हुन्छ । यदि तपाईंले कृष्ण बनाउन भन्नुभयो भने, उनीहरूले हातमा एउटा मुरली थमाइदिन्छन्; राम बनाउन भन्नुभयो भने, हातमा वाण थमाइदिन्छन्; शिव बनाउन भन्नुभयो भने, शिरमा चन्द्रमा राखिदिन्छन्— त्यत्ति भएपछि उनीहरूको काम फत्ते हुन्छ !

म जबजब यी क्यालेन्डरहरू हेर्छु, म कहिल्यै कुनै चित्रकारको अगाडि नबस्ने निधो गर्छु । बरु, फोटो ठीक छ— तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै खिचिन्छ । यदि तपाईं राक्षस जस्तो देखिनुहुन्छ भने, तपाईंको फोटो पनि राक्षसको जस्तै देखिनेछ । तर, शिव जस्ता योगीको गाला पुक्क परेको किन हुन्थ्यो र ? यदि तपाईंले उनलाई ख्याउटे जस्तो देखाउनु भएको भए, सन्तोष मान्न सकिन्थ्यो, तर पुक्क गाला भएका शिव— यो कसरी हुन सक्छ ?

योग संस्कृतिमा, शिवलाई भगवान्‌को रूपमा हेरिँदैन । उनले यस धरतीमा पाइला राखेका थिए अनि उनी हिमालयमा बसोबास गर्दथे । योग परम्पराहरूको स्रोत र जनकको रूपमा, मानव चेतनालाई माथि उठाउनमा उनको जे–जति योगदान छ, त्यो यति अद्भुत छ कि त्यसलाई बेवास्ता गर्न सकिँदैन । जे–जति तरिकाहरूमार्फत मानव प्रणालीलाई परम सम्भावनामा रूपान्तरण गर्न सकिन्छ, ती हजारौँ वर्षअघि नै आफूभित्र खोज गरेर पत्ता लगाइएको थियो । यसको गहनता र जटिलता अविश्वसनिय छ । त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन । यो भित्री बोधबाट प्रकट भएको थियो । उनको सेरोफेरोमा के भइरहेको थियो भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो आदियोगी स्वयंको उद्गार हो, उद्वलेन हो । उनले पूरै विस्तृत रूपमा मानव प्रणालीमा हुने हरेक केन्द्रको अर्थ दिए, साथै ती केन्द्रहरूसँग हामी के गर्न सक्छौँ भन्ने सम्भावना समेत पूरै विस्तारमा बताए । जे–जति भन्न सकिन्थ्यो, ती सबैलाई उनले यति सुन्दर र कुशल तरिकाले बताएका थिए कि आजको दिनसम्म पनि तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न । तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ ।

यस संस्कृतिमा, परापूर्व कालमा, अधिकांश मन्दिरहरू शिवका निम्ति मात्र बनाइएका थिए— अरू कसैका लागि होइन । पछिल्लो १००० वर्षमा मात्र, अरू मन्दिरहरू निर्माण गरिएका हुन् । शिव अर्थात् "त्यो जुन छैन ।" अतः "त्यो जुन छैन" को लागि मन्दिरहरू निर्माण गरिएका थिए । "त्यो जुन छ" भौतिक हुन्छ । "त्यो जुन छैन", भौतिकभन्दा पर हुन्छ । मन्दिर यस्तो द्वार हो, जसमार्फत तपाईं त्यहाँ पुग्नुहुन्छ "जुन छैन" । शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन । त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ ।

–सदगुरुको प्रवचनमा आधारित

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:३७:४० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology