Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विपन्न परिवार व्यावसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै

विपन्न परिवार व्यावसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै

इच्छाकामना न्युज

२४, मंसिर २०७८
विपन्न परिवार व्यावसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै

दाङ,२४ मंसिर । दाङ गढवा गाउँपालिकाकी सीता घर्ती विपन्न महिला हुन् । उनले आफनो जीविका चलाउन दैनिक श्रम गर्ने र छाक टार्ने गर्दै आएकी थिइन् । दुई वर्षअघि उनले जीविकोपार्जनका लागि बाख्रा पालनका लागि अनुदान रकम पाइन् । 

images

व्यावसायिक पशु पालिकानका लागि पाएको २५ हजार रुपैयाले उनले चारवटा माउ बाख्रा किनिन् । एक वर्षमा दोब्बर बाख्रा भए । अहिले उनीसँग आठवटा बाख्रा छन् । दुईवटा बिक्री गरेर घर खर्च व्यवस्थापन गरिसकेकी छन् । ‘रेडक्रसले २५ हजार अनुदान दियो, त्यसले बाख्रा किनेँ । अहिले पालिरहेकी छु,’ सीताले भनिन्, ‘किनेकोभन्दा दोब्बर भयो, दुईवटा बेचेर केही आम्दानीसमेत गरिसकेँ, अहिले घर खर्च चलाउन सहज भएको छ । सानो बच्चा छ, श्रीमानले अर्काे बिहे गरेर जानु भयो, मलाई अप्ठेरो परेको बेला बाख्राको अनुदान पाएँ, अहिले धेरै राहत महसुस भएको छ ।’ 

गढवाकै बालमती चौधरीसँग अहिले आठवटा बंगुर छन् । उनले अनुदान पाएको २५ हजार रुपैयाँबाट तीनवटा बंगुर किनेकी थिइन् । अहिले बढेर आठवटा पुगेका छन् । एउटा ३५ हजारमा बेचिसकेकी चौधरी दैनिक ज्यालादारी छोडेर बंगुर पालनमा व्यस्त छिन् । ‘अहिले एउटा बंगुर बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेकी छु,’ उनले भनिन्, ‘यसले घर खर्च, छोराछोरीलाई पढाउने काममा सहज भएको छ ।  मजदुरी गरेर खान्थेँ, अहिले बंगुर पालन गर्छु । यसबाट राम्रो आम्दानी हुने रहे छ । अब यसलाई बढाउँछु ।’ 

गीता थापाको आफ्नो स्वामित्वको जग्गासमेत छैन । ऐलानीमा घर बनाएर बेसेकी गीता अहिले बाख्रापालक किसान भएकी छन् । उनको विपन्नतालाई देखेर नेपाल रेडक्रस सोसाइटीको इन्कोर कार्यक्रमले व्यावसायिक पशुपालनका लागि अनुदान दिएपछि उनी व्यावसायिक बाख्रा पालनमा लागेको बताइन् ।  अहिले उनीसँग पाँचवटा बाख्रा छन् । दुईवटा बिक्री गरेर आम्दानीसमेत गरिसकेको सुनाइन् । उनले आफ्नो टोलमा ३३ जना महिलाहरूले अनुदान पाएर व्यावसायिक पशुपालन गरेको बताइन् ।  

नेपाल रेडक्रसको इन्कोर कार्यक्रमले राजपुर र गढवाका विभिन्न क्षेत्रका एकल महिलाहरूको आयआर्जनका लागि व्यावसायिक पशुलापनका लागि ८७९ परिवारलाई अनुदान दिएको छ । प्रतिपरिवार २५ हजार रुपैयाँका दरले दिएको अनुदान रकमबाट ८७९ जना व्यावसायिक पशुपालनमा लागेको कार्यक्रम संयोजक जगत तामाङले बताए । उनले यस क्षेत्रमा भएको कार्यक्रम प्रभावकारी देखिएको समेत बताए । संकटासन्न समुदायहरूको विपद् र स्वास्थ्यसम्बन्धी चुनौतीहरूको समावेशी उत्थानशिलतामा अभिवृद्धिको उद्देश्य राखिएको कार्यक्रमले समुदायलाई ठूलो लाभ भएको तामाङले बताए । 

अनुदान कार्यक्रमअन्तर्गत समुदायमा पशु स्वास्थ्य शिविर, लाभग्राहीलाई प्राविधिक तालिम सञ्चालन, भेटरेनरी तालिम,  नश्ल सुधारका लागि ३१ वटा बोयर जातको बोका वितरण लगायतका कार्यक्रम गरिएको छ ।  

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १०:१७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology