कुरिनटार, ४ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको विशेष गाउँसभा ढिला गरि सुरु भएको छ। गाउँपालिकाको आज १२ बजे बस्ने भनिएको गाउँसभा झण्डै साढे २ घण्टा ढिला गरि सुरु भएको हो।
पत्रकारलाई समाचार संकलनमा निषेध
यसैबीच गाउँपालिकाको आज हुँदै गरेको विशेष गाउँसभामा स्थानिय पत्रकारहरुलाइ प्रवेश निषेध गरेको छ। गाउँपालिकाले नै समाचार संकलनका लागि निमन्त्रणा गरेर गएका स्थानीय पत्रकार हरुलाइ गाउँसभा सुरु हुनै लाग्दा सभास्थलको ढोका मै रोक लगाएका थिए।
गाउँसभामा प्रवेश गर्नै लाग्दा प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले आजको गाउँसभामा पत्रकारहरुलाइ भित्र प्रवेश नगराउने कुरा भएको जानकारी दिनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत लम्सालले गाउँसभामा पत्रकारहरुलाइ प्रवेश निषेध गरेको जानकारी गराएपछी समाचार संकलनका लागि त्यहाँ पुगेका स्थानिय पत्रकारहरु इच्छाखबर डटकमका संजय पोखरेल, इच्छाकामना एफएम एंव राससकर्मी हिरालाल गुरुङ र मनकामना एफएम एंव इच्छाकामना न्युज डटकमका चित्र बहादुर गुरुङ सभा स्थलबाट बाहिरिएका थिए।
यसैबिच स्थानिय पत्रकारहरुलाइ समाचार संकलनमा रोक लगाउनु दु:खदायी भएको पत्रकार संजय पोखरेलले बताउनुभयो। यो कुराले स्वतन्त्र रुपमा पत्रकारले सुचना तथा समाचार संकलन गर्न पाउने अधिकार कुण्ठित पार्ने र नागरिकको सुचना पाउने अधिकारलाई संकुचित पार्ने प्रयास भएको पोखरेलले बताउनु भयो।