कुरिनटार, ४ मंसिर । लामो समय देखि विवादित बनेर टुंगो लाग्न नसकेको इच्छाकामना गाउँपालिकाको वडा नं. ३ को स्थायी वडा केन्द्र अन्ततः टुंगो लागेको छ। गाउँपालिकाको आज भएको विषेश गाउँसभाले स्पष्ट बहुमतका साथ वडा नं. ३ को स्थायी वडा केन्द्र टुंगो लगाएको हो।
गाउँसभामा प्रस्तुत भएको गाउँपालिकाको वडा नं. ३ को स्थायी वडा केन्द्र चुम्लिङटार कायम गरियोस् भन्ने प्रस्तावमा बहुमत पुगेपछि टुंगो लागेको गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले जानकारी दिनुभयो। यो सँगै इच्छाकामना गाउँपालिका वडा नं. ३ को स्थायी केन्द्र अब देखि चुम्लिङटार हुने भएको छ। गाउँसभामा प्रस्तुत प्रस्तावमा वडा नं. ३ को स्थायी केन्द्र फिस्लिङ राखियोस् भन्ने पक्षमा १५ र विपक्षमा १७ मत परेको थियो भने चुम्लिङटार राखियोस् भन्ने पक्षमा १८ र विपक्षमा १५ मत परेको प्रवक्ता गुरुङले बताउनुभयो।
यसैबिच वडा नं. ३ को स्थायी केन्द्र आजको विषेश गाउँसभाले टुंगो लगाए सँगै इच्छाकामना गाउँपालिकाको सबै वडाहरुको स्थायी केन्द्र तोक्ने काम जनप्रतिनिधी आएको झण्डै साढे ३ वर्षपछि पुरा भएको छ। यसअघि नै गाउँपालिकाको अन्य वडाहरुको स्थायी केन्द्र तोकि सकिएको छ। जस अनुसार वडा नं. १ को हात्तिवाङ, २ को माथिल्लो काउले, ३ को चुम्लिङटार, ४ को कुरिनटार, ५ को मुग्लिन बजार, ६ को जलविरे र ७ को सिमलढाप स्थायी केन्द्र कायम भएको छ।
स्मरण रहोस् गाउँपालिका कार्यालयकै एक कोठाबाट सञ्चालनमा गरिरहेको वडा नं. ३ को कार्यालय गत असारमा सम्पन्न सातौ गाउँसभाले पनि टुंगो लगाउन नसके पछि अस्थायी रुपमा कार्यलय फिस्लिङ सारिएको थियो। तर अस्थायी कार्यालय फिस्लिङ सारिएपछि असन्तुष्ट पक्षले गाउँपालिकाको कार्यालय कुरिनटारमा तालाबन्दी गरेका थिए। पछि विशेष गाउँसभा बोलाउने सर्तमा ताला खोलिएको थियो।
यस्तै गाउँपालिकाको आज सम्पन्न गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७
पनि पास गरेको छ।