Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

उत्पादन लागत अनुसारको मुनाफा पाउन नसकेको माछापालक किसानको गुनासो 

उत्पादन लागत अनुसारको मुनाफा पाउन नसकेको माछापालक किसानको गुनासो 

सिआईएन

२३, पौष २०७८
उत्पादन लागत अनुसारको मुनाफा पाउन नसकेको माछापालक किसानको गुनासो 
images

समिना रञ्जितकार, विरगञ्ज, २३ पुस । सरकारले बारा जिल्लालाई माछाको पकेट क्षेत्र घोषणा गरेपनि उत्पादन लागत अनुसारको मुनाफा पाउन नसकेको किसानहरूले बताएका छन् । सरकारले पहिचान गरेको माछाको सुपरजोन क्षेत्रमा नै माछापालनबाट गतिलो आम्दानी नभएको उनीहरूको भनाइ छ । माछालाई खुवाउने दानाको मूल्य आकाशिनुका साथै मजदुर समेत अभाव हुँदा माछा उत्पादनमा लागत बढ्ने गरेको किसान रामकिशोर यादवले गुनासो गर्नुभयो । 

images
images

पाँच वर्ष अगाडि दानाको मूल्य प्रतिकिलो २८ रुपैयाँ रहेकोमा अहिले मूल्य बढेर ५२ रुपैयाँ पुगेको छ । पोखरीबाट माछा झिक्ने माझीहरूले प्रत्येक पटक उत्पादित माछाबाट दश प्रतिशत लिने चलन यथावत् रहेको र व्यापारीहरूले पनि पाँच किलोमा डेढ किलो बढी लिने गरेको किसानहरू बताउँछन् । 

यस्तै कारणले माछा पालनमा समस्या भोगिरहेको अर्का किसान सिकन्दर साहले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपरजोनका पूर्व अध्यक्ष जालन्धर सिंहले बारामा माछा उत्पादन बढेको तर बजार नबढेका कारण समस्या भएको बताउनुभयो । बारा जिल्लाको सिम्रौनगढ, बोधवन, पचरौता र कोल्हवीमा सबैभन्दा बढी माछापालन हुने गरेको छ । बारा जिल्लामा सबैभन्दा बढी सिम्रौनगढ क्षेत्रमा माछा उत्पादन हुँदै आएको छ । 

माछापालनमा आइरहेको समस्याको समाधान गर्न आफुहरूले विभिन्न योजनाहरू बनाइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपरजोनका कृषि अधिकृत दीपकुमार मित्रले बताउनुभयो । नेपालमा कुल माछाको मागमध्ये पैंतीस प्रतिशत बारा जिल्लाबाट पूर्ति हुने गरेको छ । बारामा हाल १२ वटा ह्याचरी र एक हजार ६ सय २५ वटा पोखरी रहेका छन् । 

 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०९:०१:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology