देवघाट, २६ पुस । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका मावी को प्राङ्गणमा आयोजित गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा आदर्शशिक्षा मावी खाल्टे प्रथम भएको छ। देवघाट बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा आयोजित प्रतियोगितामा सहभागी ९ वटा विद्यालयलाई उछिन्दै आदर्शशिक्षा मावी खाल्टे प्रथम भएको हो।
सो कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तरलाई गुणस्तरीय बनाउन आफुले कुनै कसर नराखी निरन्तर लागी परेको बताउदै हरेक संघ संस्थाहरु संग पनि समन्वय गरेको बताए। साथै उनले शैक्षिक क्षेत्रलाई अझै गुणात्मक बनाउन विद्यालयहरुलाई शैक्षिक क्रियाकलापहरुमा अगाडी बढ्न आग्रह गर्दै देवघाट बचत तथा ॠण सहकारी संस्थाको काम प्रति खुशी व्यक्त गर्दै धन्यवाद दिए।

कार्यक्रममा देवघाट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारीले देवघाट गाउँपालिका स्तरीय अन्तर मावी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश भनेकै विद्यार्थीहरुको ज्ञान, सीप, क्षमता, दक्षता अभिवृद्वि केहि हदसम्म भए पनि सहयोग पुग्नेमा बिश्वास रहेको उनले बताए। साथै अध्यक्ष अधिकारीले आगामी दिनहरूमा सामाजिक क्षेत्रमा सवै संग समन्वय गरि अगाडी बढ्ने समेत बताए। कार्यक्रममा सेयर सदस्य बाबुराम पौडेल स्वागत मन्तव्य र संस्थापक अध्यक्ष पुर्ण बहादुर कुवरले संस्थाको बिषयमा जानकारी राखेको थियो।

देवघाट गाउँपालिका भित्रका ९ वटा विद्यालयहरु आदर्श शिक्षा मावि, कालीगंगा मावि, बालकेश मावि, कालीका मावि, सिद्धमहाकाली मावि, बज्रयोगिनी मावी र महेश संकृतिक गुरुकुलम्, वेद वेदाङ्ग संकृतिक गुरुकुलम्, परमानन्द संकृतिक गुरुकुलम् गरि नौ वटा विद्यालयहरुको सहभागिता रहेको थियोे भने जसमा प्रथम आदर्शशिक्षा मावी, द्वितीय सिद्धमहाकाली मावी र तृतीय महेश संकृतिक गुरुकुलम्ले क्रमशः मेडल, प्रमाण–पत्र सहित आकर्षक (गिफ्ट) पुरस्कार प्राप्त गरेका थिए।
सो कार्यक्रम देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी, वडाध्यक्ष पदम बहादुर गुरुङ, गाउँपालिका प्रवक्ता एवम् वडाध्यक्ष याल बहादुर गुरुङ, लगायतको उपस्थिति रहेको थियो।