Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अझै पनि गर्भ जाँच गराउँन स्वास्थ्य संस्था जादैनन् इच्छाकामनाका महिलाहरु

अझै पनि गर्भ जाँच गराउँन स्वास्थ्य संस्था जादैनन् इच्छाकामनाका महिलाहरु

इच्छाकामना न्युज

१२, मंसिर २०७७
अझै पनि गर्भ जाँच गराउँन स्वास्थ्य संस्था जादैनन् इच्छाकामनाका महिलाहरु

बसन्त ढुङ्गाना । चितवन, १२ मंसिर । इच्छाकामना गाउँपालिका–६ कालिखोलाकी सीता चेपाङ १८ वर्ष पुगिन्। उनका काखमा दुईटी छोरी छन्। दुवैलाई उनले घरमै जन्माइन्।

images

‘अहिलेसम्म गर्भ परीक्षण र सुत्केरी हुन स्वास्थ्य संस्था गएकी छैन,’ २० दिनकी छोरीलाई दूध चुसाउँदै सीताले भनिन्, ‘हाम्रो गाउँमा अधिकांशले घरमै बच्चा जन्माउँछन्।’

गर्भवती हुँदा स्वास्थ्यमा समस्या देखिए पनि परीक्षण गर्न नगएको उनले बताइन्। ‘पहिलो बच्चा गर्भमा रहँदा रिङटा लाग्ने, बान्ता हुने समस्या थियो। घरमा जडीबुटी बनाएर दिनुभयो,’ १४ वर्षमै विवाह गरेकी उनले भनिन्, ‘पहिलो छोरी जन्म दिँदा दुई दिनसम्म व्यथा लागेको थियो। तर, स्वास्थ्य संस्था गइन।’

उनले ८ कक्षा पढ्दापढ्दै विवाह गरेकी हुन्। उनका डेढ वर्ष र २० दिनकी छोरी छन्। उनले तत्कालै अस्थायी परिवार नियोजन गर्ने सोच बनाएकी छैनन्।

कालिखोलाकै २६ वर्षीया माया चेपाङका चार छोरी छन्। उनी नियमित गनुपर्ने गर्भ परीक्षण र सुत्केरी हुन स्वास्थ्य संस्था गइनन्।

‘गाउँका केहीले गर्भ परीक्षण गर्न जार्नुपर्छ भन्नुहुन्थ्यो,’ उनले लाज मान्दै भनिन्, ‘हस्पिटल जान लाज लागेर गइनँ।’

उनले पनि १४ वर्षकै उमेरमा विवाह गरेकी थिइन्। अहिले ११, १०, साढे २ वर्ष र एक महिनाकी छोरी छन्। श्रीमानले उनलाई छोरा जन्माउनुपर्छ भनेका छन्। तर, उनी भने बच्चा नजन्माउने पक्षमा छिन्।

‘शरीर कमजोर हुँदै गएको छ। सानो छोरी जन्माउँदा धेरै समस्या भयो,’ उनले भनिन्, ‘अब तीन महिने सुई (संगिनी सुई) लगाउने सोच बनाएकी छु।’

भौगोलिक विकटता, स्रोतसाधन अभाव र जनचेतना कमीले विकट गाउँका गर्भवती घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य छन्।

‘स्वास्थ्य संस्था पुग्न चार घन्टा हिँड्नुपर्छ,’ इच्छाकामना–६ की ३५ वर्षीया सुकमाया चेपाङले भनिन्, ‘घरमै राम्रो हुन्छ भनेर जँचाउन पनि गइनँ। १० वटा सन्तान घरमै जन्मिए।’ तीमध्ये तीन छोरी र एक छोराको मृत्यु भएको थियो। उनले अझै परिवार नियोजन गरेकी छैनन्।

स्थानीय, प्रदेश र संघीय सरकारले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य संस्था विस्तार गरेको दाबी गरिरहँदा विकट गाउँका गर्भवती अहिले पनि घरमै सुत्केरी हुन बाध्य छन्।

इच्छाकामना गाउँपालिकाको तथ्यांक हर्ने हो भने १२ प्रतिशतमात्र स्वास्थ्य संस्था गएर सुत्केरी भएको देखिन्छ। गत आर्थिक वर्ष ८ सय ४२ जनाको जन्म हुँदा ९७ जना गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। पछिल्लो तीन वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने संख्या विस्तारै घटिरहेको गाउँपालिकाका हेल्थ असिस्टेन्ट हरिबहादुर देवकोटाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७४–७५ मा स्वास्थ्य संस्था पुगेर सुत्केरी हुनेको संख्या १ सय ३२ थियो। त्यसपपछि घटेर २०७५–७६ मा ९८ र गत वर्ष ९७ सीमित भएका थिए।

, गाउँपालिकाबाहेक बाहिरका हस्पिटलमा गएर सुत्केरी हुन सक्ने देवकोटाले बताए। ‘इच्छाकामनामा चार बर्थिङ सेन्टर छन्। बाहिरी अस्पताल गएर पनि सुत्केरी हुन सक्छन्,’ उनले भने, ‘गर्भ परीक्षण गर्नेको संख्यामा पनि प्रगति भएको छैन।’

गर्भको नियमित स्वास्थ्य परीक्षण (कम्तिमा चारपटक) गराउनुपर्छ। २०७६–७७ मा ५ सय १६ गर्भवतीले गर्भ जाँच गराएका थिए। तर, नियमित गर्भ परीक्षण पूरा गर्नेको संख्या २१ मात्र छ। नेपाल सरकारको मापदण्ड अनुसार पहिलो परीक्षण चौथो महिनामा गर्नुपर्ने हुन्छ।

तीन महिना कटेपछि आइरन, क्याल्सियम, जुकाको औषधी खानुपर्ने प्रसूतिगृह थापाथलिकी स्त्रीरोग विशेषज्ञ डा. सपना अमात्य बैद्यले बताइन्।

सोही अवधिमा टिटानसको खोप लगाउनुपर्छ। त्यस्तै रगत, पिसाब परीक्षणका साथै बच्चाको अवस्था बुझ्न पाँच महिनापछि भिडियो एक्स रे गनुपर्ने उनले बताइन्। ६ र आठ महिनामा नियमित आइरन र क्याल्सियम दिने र नौ महिनामा बच्चा शारीरिक रूपमा कस्तो छ भन्ने बुझ्न भिडियो एक्सरे गरिन्छ।

शिशु मृत्युदर उच्च

अस्पताल नगई घरमै सुत्केरी हुँदा आमा र शिशुको जोखिम बढी हुन्छ। इच्छाकामना गाउँपालिकामा शिशु मृत्युदर उच्च छ। गाउँपालिकामा मृत्यु हुनेमा २५ प्रतिशत एक वर्षमुनिका शिशु छन्।

गाउँपालिकाको तथ्यांकअनुसार २०७५–७६ मा गाउँपालिकामा ३ सय ९६ जनाको मृत्यु हुँदा ९८ जना एक वर्षमुनिका शिशु थिए। एक वर्ष नपुगी मृत्यु हुनेमा पुरुष शिशु ७५ र महिला शिशु २३ थिए। तर, स्वास्थ्य संस्थामा भने गत आर्थिक वर्ष दुई शिशुको मृत्यु भएको थियो। २०७६–७७ मा भने एक महिलाको मृत्यु भएको छ।

स्वास्थ्य संस्था नजाँदा जोखिम

गर्भ परीक्षण नगर्दा कतिपय महिलालाई गर्भावस्थामा पनि रक्तस्राव हुनसक्छ। त्यस्तो भए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। रक्तस्राव बढी भएकै कारण कतिपय महिलाको गर्भ खेर पनि जाने बैद्यले बताइन्।

कतिपयलाई रक्तचाप बढ्ने गर्दछ जसले गर्दा गर्भवतीको पेटमा रहेको पानीको मात्रा कम हुन्छ। गर्भको शिशुले पानीमा खेल्न नपाउँदा उसको मृत्यु पनि हुनसक्छ। त्यसैले बेलाबेला स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको धारणा छ।

घरमै सुत्केरी हुँदा आमालाई उच्च जोखिम हुने उनको भनाइ छ। ‘घरमा त सुत्केरी हुनै हुँदैन। गाउँमा सुढेनी बस्ने चलन छ। उनीहरूले पन्जा नलगाइ काम गर्ने गर्छन्। त्यसले अन्य संक्रमण समेत फैलाउँछ,’ उनले भनिन्, ‘पाठघेर खस्ने र फुट्ने समस्या उत्तिकै हुन्छ जसले आमाको ज्यान जान सक्छ।’

कम उमेरमा बच्चा जन्माउँदा रक्तअल्पता हुने, तौल नबढ्ने, मानसिक समस्या जस्ता कमजोरी हुने उनले बताइन्।

सरसफाइमा ध्यान दिइएन भने छिट्टै संक्रमण हुन्छ। सफाइ नगर्दा गन्हाउने सेतो पानी बग्ने, समय नपुगी शिशु जन्मिने, पेट दुख्ने आदि समस्या देखापर्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

भित्री वस्त्र बारम्बार सफा गर्नुपर्ने उनले बताइन्। घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान नै जोखिममा पर्ने गर्दछ। ग्रामीण क्षेत्रका सबै ठाउँमा सुरक्षित सुत्केरी गृह निर्माण गरी सबै आमालाई स्वास्थ्य संस्थामै बच्चा जन्माउन उत्प्रेरित गर्नुपर्ने डा.बैद्यको भनाइ छ।

कानुनी रूपमा, विवाह गर्न महिला र पुरुष दुवैले कम्तिमा २० वर्ष नाघेको हुनुपर्दछ। तर, पनि सानै उमेरमा विवाह गर्ने चलन छ।

गाउँपालिकाको प्रयास

स्वास्थ्य संस्थामा सुत्केरी हुन आकर्षित गर्ने खालका कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताइन्।

‘गाउँपालिकाले आमा स्याहारका कार्यक्रमलाई प्राथमिकता दिएको छ,’ उनले भनिन्, ‘हामी आउँदासम्म यहाँ तीनवटा बर्थिङ सेन्टर थिए। अहिले चार पुगेका छन्।’

बर्थिङ सेन्टर आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले पोषणका लागि १० हजार रुपैयाँ प्रदान गर्दै आएको उनले बताइन्। गाउँपालिकाबाट सुत्केरी आमालाई हर्लिक्स वितरण हुँदै आएको छ। सुत्केरी हुन स्वास्थ्य संस्थासम्म जानका लागि एम्बुलेन्सको व्यवस्था समेत गर्दै आएको उनले बताइन्।

‘प्रत्येक टोलमा आमासमूह गठन गरेका छौं। उनीहरूमार्फत स्वाथ्य चेतना जगाउने काम गरेका छौं,’ गुरुङले भनिन्, ‘अहिले सुधार हुँदै आएको छ।’
तर, उनले सुधार भएको भने पनि तथ्यांकका आधारमा प्रगति भएको देखिँदैन।

सरकारको निर्णयअनुसार तोकिएको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १ हजार र नियमित गर्भ परीक्षण गर्नेलाई ८ सय रुपैयाँ प्रदान गर्दै आएको उनले बताइन्। साथै शिशु र आमालाई न्यानो झोलासमेत दिने गरिएको छ।

गाउँपालिकाले गत आर्थिक वर्ष सुत्केरी भत्तास्वरूप १ लाख १३ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको थियो।

हेल्थपोष्ट नेपाल डटकमबाट साभार

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - २०:५९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology