निशु जोशी, नेपालगञ्ज, ८ फागुन । बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नम्बर १ को अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुन्जले घेरेको छ । निकुन्जका जनावरले बर्षेनि बालीनालीमा क्षति पु¥याउन थालेपछि कतिपय स्थानीयले खेति नै गर्न छोडे । विगत ३ वर्ष यता स्थानीय सरकार र निकुन्जले तारबार गर्न थालेपछि स्थानीयहरू फेरी कृषि उत्पादनमा फर्किएका छन् ।
करिब ४० सालतिर सुख सुविधा खोज्दै हिरालाल वली रोल्पाबाट बाँकेको कुसुम झर्नुभयो । बसाई सरेर आएको चार दशक भयो तर, दुखले उहाँलाई छोडेको छैन । उहाँको खेतकै छेउमा राप्ती नदि बगिरहेको छ । बर्खामा नदिले यो जमीन डुवान पर्छ नै, कहिलेकाहि कटान पनि गर्छ । सिंचाई सुविधा छैन । तरपनि उहाँको बारीमा बन्दा, प्याज, लसुन, टमाटर लगायतका तरकारीहरु रोपिएका छन् ।
यति दुःखका बीच हुर्केका यी बालीनालीमा नजिकै रहेको बाँके राष्ट्रिय निकुन्जबाट आएका बँदेल, चित्तल, बाँदर लगायतका जनावरले क्षती पु¥याउने गरेका छन् । तीन वर्ष यता गाँउमा तारबार हुन थालेपछि बाली जोगाउन केहि सहज भएको छ । करिब २५ वटा गाँउ रहेको राप्तीसोनारी वडा नम्बर १ नम्बरका अधिकाश क्षेत्र बाँके राष्ट्रिय निकुन्जले घेरेको छ । जनावरले क्षती गर्न थालेपछि स्थानीयले खेति गर्नै छोडेका छन् भने अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।
बाँके राष्ट्रिय निकुन्ज र स्थानीय सरकारले बजेट अनुसार गाँउ घेर्दै तारजाली लगाइरहेका छन् । कृषि उत्पादन बढाउने र निकुन्जका जनावरबाट बालीनाली बचाउने बाचा अनुसार हरेक वर्ष ६५ प्रतिशत बजेट तारबारमा खर्चने गरेको वडा कार्यालयले जनाएको छ । निकुन्जका जनावरबाट धेरै प्रभावित वडाको सौरी, सिक्टा, चप्परगौडि, रानीगेजरी, बाँसखोली लगायतका गाँउमा पुर्ण रुपमा तारबार भएपछि स्थानीय पुनः खेतिपातीमा फर्किएको वडाध्यक्ष चन्द्र बहादुर वली बताउनुहुन्छ ।
वडाले हरेक वर्ष ९ किलोमिटरसम्म तारबार गर्ने गरेको छ । तारबारका कारण किसानलाई खेती गर्न सहजता सँगै छाडा पशुबाट समेत बालीनाली जोगिएको छ ।