काठमाण्डौ, १४ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गरेको स्पष्ट पार्नुभयो।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेमलनमा गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने बताउनुभयो। सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्ति राजनीतिक पूर्वाग्रह राख्ने व्यक्ति भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ।
रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो।