चन्द्रप्रकाश नेपाली, दाङ, ४ चैत । दाङको घोराही स्थित खोलामा पाइने खोले अर्थात् सीम साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेपछि खोला छेउका स्थानीय महिलाले खोले साग रोप्ने र विक्री गरेर आम्दानी गरिरहेका छन् । घोराहीका कटुवा खोला, सिस्ने खोला, सेवार खोलासँगै विभिन्न खोलाहरूमा अहिले खोले सागको उत्पादन भईरहेको छ । ।
सीम साग, पालुङ्गे साग जस्ता नामले पनि चिनिने खोले सागको बजार माग पनि राम्रो छ । केही वर्ष पहिले खोलामा आफैं फल्ने र बर्खामा भेलसँगै बगेर जाने खोले सागलाई महिलाहरुले व्यवस्थित तरिकाले उत्पादन गर्दै आम्दानीको स्रोत बनाएका छन् । कुनै पनि रासायनिक मल र विषादीको प्रयोग नहुने सीम साग अर्गानिक र स्वास्थ्यका हिसाबले राम्रो भएकाले व्यापार पनि राम्रो छ । सोही कारण स्थानीयले व्यवसायिक रुपमै यसको खेति गर्न थालेका हुन् ।
खोले साग बेचेरै सिजनको तीस हजारसम्म आम्दानी हुने स्थानीयवासी सुसिला नेपालीले बताउनुभयो । उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गर्छन् भने कतिपय किसान साग बोकेर बजार पनि पुग्छन् । खोलामा किन्न पुग्नेहरुलाई २५ देखि ३० रुपैयाँ प्रति मुठामा विक्री गरिन्छ भने, बजारमा मुठाको ६० रुपैयाँसम्म पर्छ ।
अहिले घोरहीका खोलामा उत्पादन भएका साग किन्नका लागी छिमेकी पालिका लमहीदेखी लिएर कृष्णनगर, नेपालगञ्ज, शिसहनियासम्मका मानिसहरू आउने गरेका छन् । थोरै विवेक लगाउने र मिहेनत गर्ने हो भने कमाउनका लागि खासै समस्या नहुने स्थानीय महिलाहरू बताउँछन् ।