काउले, १५ चैत । निर्माणको काम सुरु भएको झण्डै पाँच वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका २ स्थित तल्लो काउँलेमा पहिलो पटक बिजुली पुगेको छ । काउलेमा विद्युतीकरण विस्तार गर्न निर्माण गरिएको ११ केभी गजुरी–काउले वितरण लाइन सञ्चालनमा आए सँगै तल्लो काउँलेमा बिजुली पुगेको हो। यो सँगै स्थानीयले वर्षौअघि देखेको उज्यालोको सपना पुरा भएको छ।
काउँलेमा आज मंगलबार जडान भएको ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंह र धादिङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले संयुक्त रुपमा स्वीच थिचेर सेवा सुरु गरेको हो।

समुन्द्री सतहबाट करिब १४ सय मिटरको उचाइमा रहेको गाउँमा पहिलो पटक विद्युतीकरण गरिएको हो । इच्छाकामना गाउँपालिकाको वडा नं. २ अन्तर्गतका अधिकांश गाउँमा अझै बिजुली सेवा पुग्न सकेको थिएन। योसँगै वडा नं. २ का गाउँहरुलाई विद्युत् सेवाले जोड्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताए। बाँकी गाउँहरुमा समेत असार मसान्तसम्ममा बिजुली बाल्ने कुरा उनले बताए।
यो गाउँमा विद्युतीकरण विस्तार भएपछि करिब २ सय घरधुरीले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाएका छन् । गाउँमा विद्युत पुर्याउन करिब १५ किलोमिटर लामो ११ केभी लाइन निर्माण गरिएको छ ।
गाउँमा विद्युतीकरण विस्तार गरेपछि भरतपुरबाट रेखदेख गर्न दुरीका हिसाबले टाढा पर्ने हुँदा धादिङ वितरण केन्द्रले गर्ने प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । समस्या आएमा भरतपुरबाट प्राविधिक टोली पठाएर मर्मत सम्भार गर्न समय लाग्ने देखिन्छ । यही कारण यस क्षेत्रको जिम्मेवारी धादिङ वितरण केन्द्रले लिनेछ ।
गाउँपालिकाकै चेपाङ बस्तीमा सामुदायिक विद्युतीकरणबाट विद्युत सेवा विस्तार गर्न जनमुखी कस्ट्रक्सन प्रालीले ठेक्का पाएको छ । ठेकेदारले काम नगर्दा चेपाङ बस्ती अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको पनि सिंहले बताए । मर्स्याङदी सामुदायिक संस्था अन्तर्गत विद्युतीकरण गर्न ठेक्का पाएको सुर्दशन बिष्टले विगत ४ वर्षदेखि काम नगरेको संस्थाका प्रबन्धक कुमार श्रेष्ठले बताए ।
बस्तीमा विद्युत सेवा पुर्याउन २०७४/७५ मा नै ठेक्का सम्झौता भएको थियो । सम्झौताको ५ वर्षपछि बल्ल सो गाउँमा बिजुली बलेको हो। करिब ६ करोड ६६ लाखमा विद्युतीकरण विस्तार गर्ने गरी सम्झौता भएको विभागले जानकारी दिएको छ ।