घैरुङ, १६ चैत । जिल्लाको शहिद लखन गाउँपालिकामा आव २०७८/७९को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग अध्यक्ष कार्यक्रम ” सुरु भएको छ । कार्यक्रमले गाउँपालिकालाइ शिक्षा क्षेत्रको योजना निर्माणका क्रममा सहयोग पुग्नुका साथै विद्यार्थीहरु समेत लाभान्वित भएका छन् । विकृति, बिसंगती मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ गर्दै यहि शैक्षिक सत्रमा पहिलोपटक कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम विद्यालयमा अध्ययनको क्रममा परेका समस्याका बारेमा विद्यार्थीहरुसँग जानकारी लिएर सवाल जवाफ गरिएको थियो । शिक्षा क्षेत्रका योजना निर्माणका लागि विद्यार्थिहरुको सुझाव असाध्यै महत्वपूर्ण रहेको शहिदलखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए ।

गाउँपालिका र विद्यार्थीहरु प्रत्यक्षरुपमा साक्षात्कार गरि शैक्षिक गतिविधिमा वर्तमानमा भइरहेका गतिविधि, भोगेका समस्या, त्यसको निराकरण, आगामी दिनमा के गर्दै छौ र के गर्न सक्छौ विद्यार्थीले गाउँपालिकासँग राखेका अपेक्षाहरुको जानकारी दिने तथा लिने उद्देश्य कार्यक्रमको रहेको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
कार्यक्रमलाइ मनकामना माविका प्रधानाध्यापक अरविन्द मिश्र, जनशक्ति माव नामजुङका प्रधानाध्यापक चिरञ्जीवी काप्री, शहिदस्मृति माविका प्रधानाध्यापक रोहिणि प्रसाद खनाल, सिद्धस्थानी माविका प्रधानाध्यापक इश्वर कट्टेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, शिक्षा अधिकृत राजेन्द्र खनाल, वडानं ६ का अध्यक्ष दिलिप नारायण थापा शिक्षा समिति सदस्यहरु खुन प्रसाद रेग्मी, रमेश श्रेष्ठ लगायतले विद्यार्थीसँग पालिका निरन्तर सम्पर्कमा रही सुझाव लिनुपर्ने बताएका थिए ।
कार्यक्रमका अवसरमा विद्यालयबाट छनौट भएका पालिका भित्र रहेका जेहेन्दार तथा अनुशासित ५४ विद्यार्थीहरुलाई झोला, नेपाली अङ्ग्रेजी शब्दकोष र स्टेसनरी सामग्री प्रदान भएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको थियो ।