काठमाण्डौ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको लागि आज भारत जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो १२ बजेपछि त्यसतर्फ जाने छ । उहाँले आजै साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।स्थानीय समय अनुसार भोलि बिहान पौने ११ बजे प्रधानमन्त्री देउवा राजघाट जानुहुनेछ । त्यसपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि सवा १२ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । भोलि दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने प्रधानमन्त्री देउवा पर्सि बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई प्रधानमन्त्री देउवा त्यहाँबाट सवा ४ बजे स्वदेश फर्कने तय भएको छ ।