देवघाट, ७ वैशाख । स्थानीय निर्वाचन नजिकिँदै गर्दा देवघाट गाउँपालिकामा प्रमुख पार्टीहरुले कसलाई टिकट दिन्छन् भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा बढि चर्चा नेकपा एमालेले कसलाई उम्मेदबार बनाउँछ भन्ने चर्चा देवघाटमा बढेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष र दुई वटा वडामा बिजयी भएको नेकपा एमालेले यस पटक अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडामा बिजयी हुने दावी गरेको छ । तर टिकट वितरणमा सन्तुलन मिलाउन सकेन भने एमालेले जित्न निकै गाह्रो पर्ने बुझाई कार्यकर्ताहरुको रहेको छ । देवघाटको अध्यक्षमा एमालेबाट हालका अध्यक्ष दुर्गबहादुर थापा सहित ६ जना आकांक्षी रहेका छन् । अध्यक्षमा थापा सहित जिल्ला कमिटिका सदस्यद्वय बाबुराम अधिकारी र शिवराज पौडेल तथा गाउँपालिका कमिटि अध्यक्ष केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ र वडा नम्बर १ का अध्यक्ष भिम गुरुङ आकांक्षी देखिएका छन् । यस मध्ये पनि सबैभन्दा बढि चर्चा वर्तमान अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला कमिटिका सदस्य बाबुराम अधिकारीको रहेको बताईएको छ। यस पटक देवघाटमा सत्तारुढ गठबन्धनको साझा उम्मेदबार बन्ने र गठबन्धनको उम्मेदवारलाई हराउन सक्ने व्यक्तिलाई नै एमालेले उम्मेदबार बनाउनु पर्ने अधिकांश कार्यकर्ताहरुको भनाई छ । देवघाटमा माओवादी केन्द्र पनि बलियो शक्ति रहेको छ । अधिकांश जनजाती समुदायको बाहुल्यता रहेको कारण पनि जनजातीकै नेतालाई उम्मेदबार बनाउनु पर्ने एमालेका कार्यकर्ताहरुको भनाइ छ त्यसको लागि वर्तमान अध्यक्ष दुर्गबहादुर थापालाई नै उम्मेदबार बनाउनु पर्ने देवघाटका एमाले कार्यकर्ताले बताए । भने उता नेकपा कै कार्यकर्ताहरुले देवघाटमा नेकपा एमाले पार्टीको हित र बिकासको निम्ति सामाजिक क्षेत्रमा योगदान पुर्याएका लोकप्रिय युवा नेता जिल्ला कमिटी सदस्य बाबुराम नै उम्मेदवार बनाउनु पर्ने देवघाटका केही एमाले कार्यकर्ताहरुको जोड रहेको छ। गाउँपालिका अध्यक्षको आकांक्षी रहेका दुवै जनाले पार्टीले आफुलाई जिम्मेबारी दिएमा पार्टीको जित दिलाउने बताए ।