आँबुखैरेनी, १५ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेद्वार रहेका इम बहादुर के.सी. (केदार) ले आफुले जितेमा गाउँपालिकाले निर्माण गर्दै गरेको व्यापारिक कम्प्लेक्सलाई नागरिकको लागि सुविधासम्पन्न अस्पतालको रुपमा परिणत गर्ने योजना रहेको बताएका छन्। इच्छाकामना न्युजसँग कुरा गर्दै उनले यस्तो बताएको हो।
व्यापारिक कम्प्लेक्स भन्दा पहिले आँबुखैरेनीका नागरिकहरुको लागि सुविधा सम्पन्न अस्पताल निर्माण गर्नु आवश्यकता रहेकोले त्यसका लागि आफुले जितेमा गाउँपालिकाले निर्माण गर्दै गरेको व्यापारिक कम्प्लेक्सलाई सुविधा सम्पन्न अस्पतालको रुपमा परिणत गर्ने आफ्नो योजना रहेको उनले बताए।
यस्तै उनले नागरिकका लागि स्वास्थ्य, शिक्षा, रोजगार उपलब्ध गराउने नै आफ्नो पहिलो प्राथमिकता रहेकोले यसैलाई प्राथमिकता दिएर काम गर्ने बताए।
यसैगरी उनले आफुले जितेमा जनप्रतिनिधी भए वापत सरकारले उपलब्ध गराउने मासिक सेवा सुविधाका सम्पूर्ण रकम गाउँपालिका भित्र रहेका विपन्न, दलित, सिमान्तकृत समुदायको विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गरिने बताए।