सजना तिमल्सिना, काठमाडौं, १३ जेठ । चितवनका हरिबहादुर थापाले व्यावसायिक तरकारी र धान खेती गर्न थाल्नुभएको २६ वर्षभन्दा बढी समय भयो । २०५२ सालमा १० बिगाहा जमिनमा तरकारी र धान खेती सुरु गर्नुभएका उहाँ हिजोआज भने पेसा नै परिवर्तन गर्ने सोँचमा पुग्नुभएको छ ।
हरिबहादुर मात्रै होइन, देशका अधिकांश किसानलाई धानको बिउ राख्न भ्याइनभ्याइ छ । तर रासायनिक मल चाहेजति नपाउँदा उत्पादन राम्रो नहुने चिन्ता किसानमा छ । कृषि सामग्री कम्पनीका अनुसार नेपालमा बर्सेनि ८ लाख मेट्रिक टन मलको माग हुने गरे पनि जसोतसो ५ लाख मेट्रिक टन मात्रै आयात भइरहेको छ ।
किसान भने प्राङ्गारिक मल उत्पादनमा सरकारले प्रोत्साहित गर्नुपर्ने बताउँछन् । नेपालमा मलको अभाव यो वर्ष मात्रै होइन, हरेक वर्ष देखिन्छ । सरकारले यसपाली मलको अभाव हुनुको प्रमुख कारण रुस–युक्रेन द्वन्द्वलाई भनेको छ । तर धान रोप्ने बेलासम्म मल पु¥याउनका लागि काम भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव बताउनुहुन्छ ।
सरकारले मलको अभाव हुन नदिन विभिन्न देशसँग छलफल र सम्झौता गरिरहेको छ भने नेपालमै रासायनिक मल उत्पादन गर्न अध्ययन पनि गराइसकेको छ । उत्पादनको हिसाबले राम्रो भए पनि माटोको ऊर्वराशक्तिका लागि रासायनिक मलको प्रयोग राम्रो नहुने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा प्राङ्गारिक मल उत्पादन र प्रयोगमा भने सरकारको विशेष पहल भएको देखिँदैन ।