गोरखा, १ पौष । गोरखाको तान्द्राङमा रात्रीबस दुर्घटना भएको छ। काठमाण्डौँबाट गोरखा हुँदै सोतीका लागि छुटेको ग १ख ९४४६ नम्बरको बस आज बिहान ४ः३० बजे भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ मुरलीचोकमा दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ।
घाइतेहरुमा गोरखा धार्चे ६ का वर्ष ५० को सुरमान घले, भिमसेन थापा ३ बस्ने वर्ष २९ को उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, उज्वल पुडासैनी र धार्चे स्थित केरौँजा बस्ने वर्ष ३२ को कान्छि गुरुङ रहेको प्रहरीले जनाएको छ।
उनीहरुको टाउको र छात्तीमा चोट छ। गम्भिर घाईते तीन जनालाई काठमाण्डौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिँदै छ।
बसमा करिब ४० जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
बस सडकबाट करिब ५० मिटर तल खसेको ट्राफिक प्रमुख ढकालले बताउनुभयो। चालक इलाका प्रहरी कार्यालय आरुघाटको नियन्त्रणमा छन्। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।