कुरिनटार, ११ असार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गरि गाउँपालिकाको विकाश गर्न इच्छाकामना पर्यटन विकाश बोर्डको गठन गर्ने भएको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९।०८० को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष माया सिलवाले सो कुराको जानकारी गराएको हो। उपाध्यक्ष सिलवालका अनुसार गाउँपालिका स्तरीय पर्यटन बोर्डको गठन गरी सोही बोर्डको सिफारिसमा पर्यटन विकासको लागि आवश्यक कदम चालिनेछ ।
यस्तै गाउँपालिकाको पर्यटन निति अन्तर्गत पर्यटन पदमार्गको स्तरोन्नति गर्ने, लामो झरनाको व्यवस्थापन तथा संरक्षणमा जोड, गाउँपालिकाको पर्यटकीय क्षेत्रहरु सिराईचुली, इच्छाकामना मन्दिर, उपरदाङगढी, सिंहदेवी पाथीभारा, गौरीखोला झरना, मुग्लिङ महादेव थान, त्रिवेणी भगवति (गोरखा) क्षेत्रमा पर्यटकको बृद्धि गर्न पहुँच मार्ग स्तरोन्नती गरी पर्यटन प्रवद्र्धनमा जोड दिईने, होम स्टे प्रवद्र्धनलाई जोड, विभिन्न जातजातिको संस्कृति जगेर्ना सहित हरेक वर्ष पालिका स्तरिय प्रतियोगिता र प्रदर्शनी गरिने लगायतका कुराहरु समेटिएको छ ।
साथै गाउँपालिकाले त्रिशुलीको र्याफ्टिङ व्यवशाय प्रवद्र्धन गरी राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न त्रिशुलीमा र्याफ्टिङ महोत्सव संचालन गरिनेछ ।