देवघाट, १३ असार । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित महेश संन्यास आश्रमको सभाकक्षमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशको सहयोग एवं महेश–संन्यास–आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा आयोजित वैदिक ज्ञान परम्परा र जीवन पद्धतिका महत्त्वपूर्ण ज्ञान सीप र पद्धतिसँग नयाँ पुस्तालाई जोडेर हाम्रो मौलिक ज्ञान सीप र पद्धतिको संवर्धन गर्ने उद्देश्यले समायोजित ‘वैदिक चिन्तनको समसामयिक उपयोगिता’ विषयक पाँच दिने अनुसन्धानात्मक गोष्ठीको समुद्घाटन भएको छ ।

आज प्रथम दिनको कार्यक्रममा महेश–संस्कृत–गुरुकुल–विद्यापीठम्का प्राचार्य उपप्राध्यापक कमल सुवेदीले स्वागत मन्तव्य एवं कार्यक्रमको सान्दर्भिकताका बारेमा बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पूर्ण बहादुर कुँवरले समग्र देवघाट तथा राष्ट्रका निम्ति अति उपयोगी रहेको बताउदैँ रामानन्द अनुसन्धान केन्द्रका लागि स्थानीय तहबाट गर्नुपर्ने काममा पूर्ण सहयोग रहने बताए ।

कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले राष्ट्रको गौरव रहेको यो रामानन्द अनुसन्धान केन्द्रमा आफुले सहयोग गर्नुपर्ने ठाउँमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता दिए । सोहि क्रममा चक्रवर्ति सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक संगिता ओझाले सान्दर्भिक कामको प्रसंशा गर्दै रामनन्द अनुसन्धान केन्द्रको उन्नतिको कामना सहित शुभकामना व्यक्त गरिन् ।
गुरुकुलका संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरिले विद्यार्थीहरू लाई उद्बोधन गर्दै राष्ट्र उत्थानमा लाग्नुपर्ने बताउँदै आशीर्वचन प्रदान गरेका थिए भने महेश–संन्यास–आश्रमका पीठाधीश र रामानन्द अनुसन्धान केन्द्रका अध्यक्ष समेत रहेका श्री १००८ स्वामी रमणानन्द गरिजी महाराजले मौलिक नेपाली संस्कृति, सभ्यता र पहिचानको संरक्षण र संवर्धन गर्न हामीले कुनै कसुर नछोड्ने बताए ।

कार्यक्रममा सङ्घीय कृषि मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले ूनेपालमा वैदिक परम्परागत कृषि पद्धति र वर्तमान युगमा यसको उपयोगिताू शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा विषादी खरिदका लागि देशको अरबौँ रुपैयाँ विदेशिँदै गर्दा यसको विकल्पको रूपमा प्राङ्गारिक मल तथा गोठे मल उत्पादनका लागि कुनै पनि कार्य योजनाहरू नभएकोमा खेद प्रकट गर्दै वैदिक कृषि पद्धति माटो सुहाउँदो र विविध जीव, कीट पतङ्ग मैत्री रहेको अनुसन्धानात्मक तथ्य प्रस्तुत गरे । उनले अन्य जीवजन्तुको जस्तै गरी राष्ट्रिय जनावर मानिएको गाईका विभिन्न प्रजातिका गाईको संरक्षण हुन नसकेको र संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए ।

सोहि कार्यक्रममा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै डा. कुलराज चालिसेले ूश्रीकृष्णागण्डकी सभ्यता र सम्पदाू शीर्षकको कार्यपत्रमा गण्डकी सामान्य नदी मात्र नभएर यसको चिरन्तन संरक्षण र संवर्धन गर्न प्रदेशको गौरव सम्पदा बनाउँदै राष्ट्रिय र विश्वसम्पदा सूचीमा समेत अटाउनुपर्ने भाव व्यक्त गरे । गण्डकीको शालिग्रामको महत्त्वबारे बोल्दै डा. चालिसेले हिमवत्खण्डलाई प्रचार गर्नुपर्ने बताउदैँ टिप्पणीकारका रूपमा सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदी र उपप्राध्यापक श्याम खनालले दुवै कार्यपत्रमाथि सहभागीहरूको जिज्ञासासहितको समीक्षा गरे भने समग्र कार्यक्रमको प्रतिवेदकका रूपमा उपप्रा। कपिलदेव भट्टराईले तीनै सत्रका सम्पूर्ण गतिविधिको शब्दचित्रात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा देवघाटका सबै गुरुकुलका प्रतिनिधिहरू र देशका विभिन्न क्षेत्रमा रहेका संस्कृत विद्यापीठका प्राध्यापकहरू तथा वैदिक सभ्यताप्रेमी अनुसन्धाताहरूको उपस्थिति रहेको थियोे भने युवापुस्तालाई वैदिक एवं परम्परामा पनि वैज्ञानिकता दर्शाउँदै अनुसन्धानतर्फ उन्मुख गराउन सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम सञ्चालक एवं सोहि गोष्ठीका संयोजक उपप्रा फणीन्द्र प्रसाद पौडेलले बताए ।