Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आपत्‌मा सघाउनेकै हत्या, श्रीमानसँग मिलेर योजना

आपत्‌मा सघाउनेकै हत्या, श्रीमानसँग मिलेर योजना

पत्रपत्रिका

२१, आषाढ २०७९
आपत्‌मा सघाउनेकै हत्या, श्रीमानसँग मिलेर योजना

काठमाडौं, २१ असार । यही असार १२ गते झापाको अर्जुनधारामा भारत गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार मृत भेटिए। झापा अर्जुनधारा-४ जुकेखाडी सडकमा बोरामा बाधेर ह्युम पाइपभित्र फालिएको अवस्थामा मृत भेटिएका नरेश कुमारको साथमा भारतीय आधार कार्ड फेला परेको थियो। शव भेटिएको तीन दिनअघि नै उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए।

images

पोखरेलकाअनुसार हत्या आरोपमा झापा अर्जुनधारा ७ डाडागाउँकी ३२ बर्षीया जानुका थापा, उनका श्रीमान ४९ बर्षीय विनय थापा र सुनसरी बराहक्षेत्र १० का २५ वर्षीय सुरेश परियार पक्राउ परेका छन्। यो घटनामा अर्का एक जना फरार छन्।

प्रहरीकाअनुसार जानुका २०७६ साल मंसिरमा वैदेशिक रोजगारीको लागि दिल्ली पुगेकी थिइन्। दलालको फन्दामा परेर उनी गुजरातमा पुर्‍याएकी थिइन्। दलाल समूहले अफ्ठेरोमा पारेको उनलाई भारतीय नागरिक नरेशकुमारले मुक्त गरी फागुनमा नेपालको पानीट्याकी ल्याएर छाडिदिएका थिए। जानुका र नरेशकुमारबीच चिनजान र नजिकको सम्बन्ध बनेको थियो। यस बीचमा नरेशकुमारले जानुकाको घरमा आउजाउ गर्ने, सामान पठाइदिने र पैसा पनि बेलाबेला पठाइदिने गरेका थिए।

भेटघाट र कुराकानी हुँदै गर्दा उनीहरु पारिवारिक रुपमै नजिकिएका थिए। जानुकाले जपडियाको सहयोग लिन थालेकी थिइन्। २०७६ फागुन अन्तिमतिर जपडिया नेपाल आएका थिए। त्यसबेला जानुकाले सहयोग मागेकी थिइन्। गुजरात पुगेर जपडियाले पाँच लाख रुपैयाँ जानुकालाई पठाइदिएका थिए।

नेपाल–भारत ओहोरदोहोरका गर्ने क्रममा ५९ हजार भारतीय रुपैयाँसहित गत वैशाखमा जपडीया विराटनगरमा पक्राउ परेका थिए। प्रहरीले जपडियालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठायो। राजश्वले २ लाख ८० हजार रुपैयाँ धरौटीमा जपडियालाई छोडेको थियो। यही मुद्दामा उनी राजश्व कार्यालयमा तारिखमा धाउँदै थिए। यसैक्रममा गत जेठमा जपडिया तारिख लिन नेपाल आएका थिए। त्यसबेला जानुकाकै घरमा बसेका थिए। जानुकाको घरमा बस्दा मदिरा सेवन गरी जपडियाले दुर्व्यवहार गरेका थिए।

प्रहरीकाअनुसार नरेशकुमारले जानुकासँग पैसा फिर्ता माग्न थालेपछि हत्याको योजना बनेको थियो। यसपछि जानुकाले श्रीमान विनयसँग सल्लाह गरी नरेशलाई मार्ने योजना बनाएकी थिइन्। योजनाअनुसार जानुकाले माइतीपट्टीको सम्बन्धबाट राम्रो चिनजान भएका सुरेश परियारलाई सम्पर्क गरिन्।

पाँच लाख रुपैयाँ दिने शर्त राखेर जपडियाको हत्या गर्नुपर्ने प्रस्ताव राखिन्। सुरेशले सहजै स्वीकार गरे। असार ९ गते जपडियाको तारेख थियो। जपडिया ८ गते नेपाल आउँदै थिए। यो खबर पाएपछि सुरेश र अर्का (फरार) व्यक्ति जानुकाको घर अर्जुनधारा पुगे। जपडिया ८ गते अर्जुनधारा आए। ९ गते उनी तारिख लिन राजश्व कार्यालय इटहरी गए। तारिख लिएर फर्केपछि जपडियासँग सुरेश र उनका अर्का साथीले मदिरा पिउने योजना बनाए।

जानुकाकै घरमा तीनै जना भएर मदिरा सेवन गरे। नशामा लठ्ठिएपछि जपडियाको टाउकोमा हथौडा प्रहार गरी सुरेश र उनका साथी हत्या गरे। शव पोको पारेर बोरामा राखे। राति ११ बजे हत्या गरेपछि शव व्यवस्थापन गर्न निस्किएका थिए।

उनीहरूले शव पुर्ने उपयुक्त ठाउँ खोज्दै हिँडे। जानुकाको घरबाट चार किलोमिटर टाढा पुगेपछि पुर्ने योजनाबाट पछि हटेर दुबैले शव ह्युम पाइपभित्र छोडेर हिँडेका थिए। १२ गतेबाट शवको गन्ध बाहिर आउन थाल्यो। स्थानीयले कहाँबाट गन्ध आयो भनी खोज्दै जाँदा ह्युम पाइपभित्र बोरा देखे।

‘स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरे, बोरा फुकाएर हेर्दा शव भेटिएको थियो। हत्याको अनुसन्धानका क्रममा जानुकाको संग्लनता देखएिपछि निगरानी गरेर यहि असार १८ गते पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जनालाई आइतबार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। अन्नपुर्णपोष्टमा खवर छ ।

 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:४२:४३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology