कुरिनटार, २ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले १० वेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ। गाउँपालिकाले चिकित्सक र नर्सको व्यवस्था सहित २४ सैं घण्टा सञ्चालनमा ल्याउने गरी अस्थायी कोरोना अस्पतालको निर्माण गरेको हो।
अस्पतालको एक कार्यक्रमका बिच आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा समुदघाटन गर्नुभयो। अस्पताल उदघाटन गर्दै नागरिक स्वास्थलाई प्राथमिकता राख्दै तत्कालका लागि अस्थायी अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनु भयो। "सुबिधासम्पन्न अर्को अस्पताल निर्माण नहुन्जेल यहि अस्पताल बाट नागरिकलाई सकेसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउछौ" -उहाँले भन्नुभयो। अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको करिब १५ लाख रुपैयाँको लागतमा १ जना चिकित्सक र २ जना नर्सिङ स्टाफ सहित सुविधा सम्पन्न अस्थायी कोरोना अस्पताल निर्माण गरिएको हो।
अस्पतालमा अक्सिजन सहितको न्युनतम चिकित्सकिय सुविधा उपलब्ध हुनेछ भने २४ सैं घण्टा चिकित्सक र नर्सको निगरानीमा कोरोना संक्रमित विरामीको उपचार हुनेछ। यसैबीच गाउँपालिकाले नेत्र ज्योती संघ भरतपुरसँगको सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याउने भएको छ। यसका लागि गाउँपालिकाले नेत्र ज्योती संघ भरतपुरसँग सम्झौता गरि स्थान उपलब्ध गराउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। अबको दुई चार दिन भित्रैमा आँखा उपचारको सेवा पनि सुरु हुने उहाँले बताउनुभयो।