काठमाण्डौ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने तयारी गरेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले पुर्नविचार गर्नका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ जस्ताको तस्तै संसद्मा पेस गर्ने तयारी गरेको हो ।
बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने प्रस्तावप्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । आज नै प्रतिनिधि सभाबाट विधेयक पारित गराएर राष्ट्रिय सभामा पठाउने सरकारले तयारी गरेको हो ।
बैठकमा गृहमन्त्री खाणले सुरुमा राष्ट्रपति कार्यालयबाट सन्देशसहित आएको विधेयक पुनर्विचार गरियोस् भनि प्रस्ताव पेस गर्नुहुने छ । उक्त प्रस्तावमा सांसदहरूले आफ्नो धारणा राख्नेछन्। राष्ट्रपति कार्यालयबाट फिर्ता आएको विधेयक प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार सभालाई जानकारी दिइन्छ।
यो जानकारी संसद् सचिवालयले प्रतिनिधि सभामा सोमवारकै बैठकमा गराएको थियो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले यसको जानकारी गराउनुभयो ।
नागरिकता विधेयक फिर्ता भएलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि नै उक्त विधेयक जस्ताको तस्तै पठाउने निर्णय गरिसकेकाले सरकारले संसद्मै छलफल गराएर सिधैं पारित गरी सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पठाउने तयारी गरेको छ । गृहमन्त्रीले सांसदहरूले राखेको प्रस्ताव स्वीकार गरेमा विधेयक थपघट हुनेछ भने नगरेमा जस्ताको तस्तै पारितको प्रक्रियामा जाने छ। गृहमन्त्रीले जवाफ दिएलगत्तै सभामुखले नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ।
प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले उक्त विधेयक बहुमतको आधारमा पास हुनेछ। पछिल्लो संसद् बैठकमा गणपुरक सङ्ख्या नपुग्दै आएकाले त्यसबाहेक उक्त विधेयक आज नै पारित भएर राष्ट्रिय सभामा जाने देखिन्छ।
राष्ट्रिय सभाबाट पारित भएपछि पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय जाने छ। दोस्रो पटक आएको विधेयक भने राष्ट्रपतिले फिर्ता पठाउने व्यवस्था संविधानमा छैन। त्यसकारण संसदको दुबै सदनबाट विधेयक पारित भएको खण्डमा राष्ट्रपतिले १५ दिनभित्र जारी गर्नुपर्ने छ। राष्ट्रपतिले विधेयकमा लालमोहोर लगाएपछि यसले कानुनको रुप लिने छ।