चितवन । विषेश गरेर चुड्का (कौडा) गीत लेखन र गायनमा जमेका लोकदोहोरी गायक एवं सर्जक सुमन आलेमगरको अल्पायुमै निधन भएको छ। लामो समयदेखि मुटु र मृगौला रोग सम्बन्धि समस्यासँग जुधिरहेका मगरको सोमबार राति १ः१० भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएको हो।
वि.सं. २०४३ साल भदौ १९ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ दाहाखानीमा जन्मिएका गायक मगरले गीतसंगीतसँगै मूल पेसाको रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।
वि.सं. २०७१ सालदेखि भरतपुर–१, ठिमुरास्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्थायी नियुक्ति पाएका मगर उक्त विद्यालयको सहायक प्रधानाध्यापकको भूमिकामा थिए। विद्यालयका प्रधानाध्यापक ज्योति ढकालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल लगिएको थियो।
मगर दाहाखानीमा जन्मिए पनि ठिमुरामै अस्थायी बसोबास गर्दै आएका थिए। अहिले श्रद्धाञ्जलिका लागि उनको शव ठिमुरास्थित निवासमा राखिएको छ। नेकपा एमालेनिकट संगठनमा समेत आवद्ध रहेका उनलाई श्रद्धाञ्जलि अर्पण गर्न इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङसमेत ठिमुरा पुगेका छन्।
श्रद्धाञ्जलि अर्पण सकिएपछि करिब १२ बजेसम्ममा देवघाटमै अन्यष्टी गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक ढकालले जानकारी दिए। गायक÷सर्जक एवम् शिक्षक मगरको परिवारमा बुबा–आमा, एक श्रीमती, एक छोरी र एक नाबालक छोरा छन्।
करिब दशकअघिदेखि नै गायन क्षेत्रमा सक्रिय रहँदै आएका मगरको ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘सलल बग्यो गण्डकी’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’लगायतका दर्जन बढी गीतमा सिर्जना गर्नुका साथै आवाज भरेका छन्। विशेष गरी कौडा गीतमा बढी योगदान दिएका छन्।
यी हुन् गायक सुमन आलेमगरका केहि प्रतिनिधि गीतहरु