Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

तनहुँ २ मा गठबन्धनबाट काँग्रेसका शंकर भण्डारी विजयी, दोस्रो प्रयासमा सफलता

तनहुँ २ मा गठबन्धनबाट काँग्रेसका शंकर भण्डारी विजयी, दोस्रो प्रयासमा सफलता

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
तनहुँ २ मा गठबन्धनबाट काँग्रेसका शंकर भण्डारी विजयी, दोस्रो प्रयासमा सफलता
images

तनहुँ । विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित भएका थिए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सिग्देलसँग भण्डारी तीन हजार दुई सय ७९ मतान्तरले पराजित भएका थिए । एमालेका सिग्देलले ३२ हजार नौ सय २४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार छ सय ४५ मत प्राप्त गरेका थिए ।

पूर्व वनमन्त्री रहेका भण्डारीले दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी भएका हुन्। बुधबार बिहान सम्पन्न मतगणनाअनुसार भण्डारीले प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङलाई पाँच हजार चार सय ७४ को मतान्तरले पराजित गरे।

गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए। निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो ।

विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएका थिए ।

विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी गएका थिए। विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी भएका थिए ।

पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए । नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय भएका थिए ।

भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भए। साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित भए।

पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाले । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भए।

भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भने।

आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताए । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उनले भने ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology