गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।
मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् ।
चुमनुब्री, धार्चे गाउँपालिकाका विकट क्षेत्रमा बिरामी तथा घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता छ। बजगाईंले लामो समयदेखि गोरखाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्न समन्वय गर्दै आएका छन्।
‘आज मैले सांसदको शपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दुस्ख सम्झिएँ। त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,’ उनले भने।
उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका लागि एक–एक वटा स्टेचरसमेत सहयोग उपलब्ध गराएका थिए।
सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल भएको नबिर्सिएको पनि उल्लेख गरेका छन् ।